काठमाडौं । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ’रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । चलचित्रको गीत ’हातैले उघाएर’को अडियोमा नृत्य गरी सो भिडियो आफ्नो फेसबुक वा इन्स्टाग्रामको प्रोफाइलमा पोस्ट गरी उत्कृष्ट फिचरसहितको ’युमिडिजी’ स्मार्टफोन प्राप्त गर्ने चलचित्रका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए ।
यस चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । सुवेदी नै यसका लेखक हुन् । ’रङ्गेली’मा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ । जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया