नयाँ वर्षको संकल्प : देशैभरिका नदीनाला सफा राख्ने

काठमाडौं । बाग्मती सफाइ महाअभियानकर्मीले यो वर्ष देशभरका सबै नदी, नाला एवं खोला सफा गर्ने सङ्कल्प गरेका छन् । सोही संकल्पलाई पूरा गर्ने उद्देश्यका साथ नयाँ वर्ष २०७६ लाई उनीहरुले सफाइबाटै शुरवात गरेका हुन्। 

सफाइकर्मीले नयाँ वर्षको पहिलो दिन नमूना कार्यक्रम गर्ने सोच बनाइरहेका बेला गोदावरी खोला सफाइ अभियानको छैटौँ हप्ता परेकाले त्यहीँ सफा गरिएको हो । खोलाको ठैँबबाट गौदामचौरसम्मको क्षेत्रमा सफाइ गरी साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक बेबी थापाले सुनाए।

गोदावरी सफाइ अभियान फागुन २६ गते आइतबारदेखि शुरु भएको हो । यहाँ प्रत्येक हप्ता आइतबार बिहान ७ बजेदेखि ९ बजेसम्म सफाइ हुँदै आएको छ । यहाँको सफाइमा महिला र विद्यालयमा अध्ययनरत बालबालिकाको उल्लेख्य सहभागिता रहने गरेको छ । सफाइमा गोदावरी नगरपालिकालगायत स्थानीयवासीले पनि सहयोग गर्दै आइरहेका छन् । 

विसं २०७० जेठ ५ गते बाग्मती सफाइ महाअभियान शुरु भएदेखि देशभर सफाइ जागरण फैलिएको छ । हालसम्म देशभरका १०३ स्थानमा साप्ताहिकरुपमा सफाइ अभियान सञ्चालन हुन्छ । विसं २०७५ लाई सरकारले सरसफाइ वर्ष घोषणा गरेको थियो । 

सरकारले सफाइ वर्ष घोषणा गरे पनि ठोस कार्यक्रम ल्याउन नसकेको सफाइ अभियानकर्मीको टिप्पणी छ । बाग्मतीलाई ढलमुक्त गर्न स्थापना भएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सुकुम्वासीका नाममा नदी किनार ओगटेर बसेकालाई हटाउन नसक्दा पनि बाग्मती आशातीतरुपमा सफा हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?