प्रचण्ड सरकारमा सफल छन् : कांग्रेस नेता प्रधान

लोकपथ
154
Shares

काठमाडौं । कांग्रेस नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गिरिजाप्रसाद कोइरालापछिको सफल रणनीतिकारको रुपमा देखिएको टिप्पणी गरेका छन् ।

उनले संसद्मा ३२ सिटसहित तेस्रो दल हुँदा पनि सरकारको नेतृत्वमा पुग्नु र एक वर्ष टिक्नु नै प्रचण्डको लागि सफलता भएको दाबी गरे ।मंगलबार रिपोर्टर्स क्लब नेपालले दाहाल सरकारको एक वर्ष पुगेको विषयमा आयोजना गरेको संवादमा उनले भने, ‘प्रचण्ड सफल हुनुमा अहिलेसम्म प्रधानमन्त्री रहिरहनु हो ।

३२ सिट भएर पनि उहाँले एमाले र कांग्रेसकै केन्द्रविन्दुमा रहेर काम गर्नु नै सफलता हो । उहाँ कुशल रणनीतिकार हो । गिरिजाबाबुपछि राजनीतिमा चतु¥याइँ र छलछाम गरेर काम गर्ने प्रचण्ड नै हो ।’

कांग्रेस पहिलो र एमाले दोस्रो दलको रुपमा रहँदा पनि प्रचण्डले तेस्रो दलको रुपमा आफूलाई राजनीतिको केन्द्रविन्दुमा राख्न सक्नु सफलता भएको प्रधानले चित्रण गरे । शान्ति प्रक्रियाका लागि उनले गिरिजाप्रसादको योगदानको स्मरण गरे ।
‘प्रचण्डजी नेपालको राजनीतिको केन्द्रविन्दुमा हुनुहुन्छ, आशय र उद्देश्य राम्रो छ । १० वर्षको जनयुद्धपछि मुलुकलाई शान्तिको बाटोमा ल्याउनको लागि गिरिजाबाबुले पहल गर्नुभयो,’ उनले भने । प्रधानले माओवादीलाई मूलधारको राजनीति र शान्ति प्रक्रियामा ल्याउनका लागि दिल्लीमा गिरिजाप्रसादले बाबुराम र प्रचण्डसँग भेटेको प्रसंग स्मरण गरे ।

सरकारको एक वर्षको मूल्यांकन गर्दा आफूले प्रधानमन्त्री प्रचण्डमा अहिलेको व्यवस्थाबारे चिन्ता देखेको उनले सुनाए । उनले भने,‘प्रचण्डजीमा ठूलो चिन्ता छ । कतै यो व्यवस्था खतरामा पर्छ कि भनेर, एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ छोड्नुको कारण पनि त्यही हो । ओलीले दुर्ई पटक संसद् विघटन गर्नुभयो । पछि उहाँले संसद् विघटनको बचाउ गर्नुभयो । अहिले कांग्रेस सरकारमा रहनुको प्रमुख कारण प्रचण्ड हो ।’

नेता प्रधानले अहिले नेपाली राजनीतिमा विभिन्न कान्डले सरकारलाई काम गर्न जटिल बनाएको बताए । ‘कतै यो संविधान नै डिरेल होला कि भनेर प्रचण्डमा चिन्ता छ,’ उनले भने,‘तर, केही गरौं भन्ने कुरा प्रचण्डमा छ । उहाँले राम्रो प्रयास गर्नुभएको छ । प्रयास कार्यान्वयन गर्ने कुरामा प्रचण्ड सफल देखिनुभएको छैन ।’ भुटानी शरणार्थी प्रकरण र सुन कान्ड मात्रै नभइ बढ्दो बेरोजगारीले युवाको विदेश पलायनको दर बढ्नु, एनसेलको सेयर बिक्री प्रकरण सरकारका लागि चुनौती भएको उनले बताए ।

‘अब सुदृढ सरकार दिनुपर्छ । सुशासनको सरकार दिनुपर्छ । प्रचण्डको खास काम गर्ने सो छ । उहाँ एउटा रफ्तारमा हुनुहुन्छ । केही गरौं भन्ने हुटुहुटी छ । कांग्रेसले असहयोग गरेको पनि छैन,’ उनले भने ।

उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई यो एक वर्षको कामको समिक्षा गर्दा असफल भन्न नसक्ने बताए । उनले भने,‘यो एक वर्षको काम हेर्दा म उहाँलाई असफल भन्दिनँ । काम सन्तोषजनक छ । संसारभरि नेपाललाई प्रचण्डले चिनाउनुभयो । युएनका महासचिवलाई नेपाल ल्याउनुभयो । कोप–२८ मा जानुभयो र नेपालको मुद्दा जोडदार रुपमा उठाउनुभयो । अहिले वातावरणको विषयमा सरकार एकदमै सफल भयो । वैदेशिक नीति सन्तुलित छ । भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?