नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा डा.अधिकारी मनोनित

लोकपथ
63
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग अन्तर्गतको नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा.राजु अधिकारीलाई मनोनयन गरिएको छ ।

एनआरएनएको हालै सम्पन्न ९४औं आइसीसी बैठकको निर्णय अनुसार डा.अधिकारीलाई नेपाल विज्ञान प्रतिष्ठान समितिको संयोजकमा मनोनयन गरिएको संघले जनाएको छ । संघले २५ जना सदस्य र ५ जना सल्लाहकार रहेको समिति गठन गर्न पनि अधिकारीलाई जिम्मा दिएको छ ।

अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार प्राप्त गर्ने पहिलो एनआरएन वैज्ञानिक पनि हुन् ।

अष्ट्रेलियाको सीएसआइआरओ र आरएमआइटी विश्वविद्यालयमा अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत डा अधिकारीले २६ ओटा पेटेन्टहरु दर्ता गरेका छन् भने उनका झण्डै १०० ओटा अनुसन्धानमुलक लेखहरु विभिन्न जर्नलहरुमा प्रकाशित छन्। उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ । डा. अधिकारीले गैर आवासीय नेपाली संघद्वारा हालै काठमाडौँमा आयोजित तेश्रो विश्व ज्ञान सम्मेलन आयोजक समितिको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

“गत अक्टोबर महिनामा काठमाडौंमा सम्पन्न एनआरएनए विश्व ज्ञान सम्मेलनको घोषणा तथा दिशानिर्देशहरूको दायरामा रही नेपाल विज्ञान फाउन्डेसन ट्रस्टले अनुसन्धान, विकास योजना र आगामी कार्यक्रमको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको छ र सोही अनुसार काम गर्ने छ,“ अधिकारीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?