गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मंगलवार राति २० लाख बराबरको चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गहा नगरपालिका–७ स्थित जीतेन्द्र साहले सञ्चालन गरेको श्री हनुमान ज्वेलर्सबाट ११ लाखको गरगहना चोरी भएको हो ।
चोरले सो ज्वेलर्समा लगाइएको ताल्चा काटेर फलामको रडको सहयोगमा पसलको सटर बाङ्गो पारेर पसलमा रहेको ६ लाख पर्ने सुनको विभिन्न गरगहना १० तोला र चार लाखको सात किलो चाँदी गरी ११ लाखको चोरी गरेको छ ।
त्यस्तै मंगलवार राति नै जिल्लाको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरामा एक समूहले स्थानीयवासी लक्ष्मीनारायण शर्माको घरको छतबाट घरभित्र पसी लाखौँको चोरी गरेका छन् ।
चोरहरुले शर्माको घरभित्र रहेको ६ लाख पर्ने सुनका गरगहना १० तोला, ३५ तोला चाँदी विभिन्न सामान र दराजभित्र रहेको नगद ३५ हजार तथा अन्य सामान चोरी गरि लगेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
आज ‘बुधवार’ बिहान जिल्लाको दुई स्थानमा चोरीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा अन्य इलाका प्रहरी र प्रहरी चौकीबाट ती स्थानमा चोरको खोजतलास गर्न व्यापक रूपमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया