डडेल्धुरा रात्रिबस दुर्घटना : ३१ घाइते एकको अवस्था गम्भीर

डडेल्धुरा । धनगढीबाट अछामका लागि छुटेको यात्रुवाहक रात्रीबस दुर्घटना हुँदा ३१ जना यात्रु घाइते भएका छन् । 

उक्त बस बुधवार बिहान डडेल्धुराको अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका हुन् । ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा बुधबार बिहान करिब साढे २ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार अहिले ३० जना घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको छ । त्यस्तै गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियालको भने त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि धनगढी पठाइएको छ । घाइतेहरुको अहिलेसम्म परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

बसमा ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । बस ब्रेक फेल भएर मोडमै पल्टेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?