‘युवा स्ट्यान्ड्स विथ नेचर’ राष्ट्रिय सम्मेलन हुने

लोकपथ
56
Shares

काठमाडौं । भूमि हाम्रो भविष्य ‘ल्याण्ड आवर फ्युचर’ नामक संस्थाले २३ र २४ डिसेम्बरमा ‘युवा स्ट्यान्ड्स विथ नेचर’ भन्ने नाराका साथ पहिलो राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी गराइएको हो ।पत्रकार सम्मेलनमा पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले युवाहरुलाई विश्वको समस्याको बारेमा जानकार गराएर नेपालमा कसरी आफ्नो भूमिका गर्ने भन्नेबारे जानकारी दिन सम्मेलन आयोजना गरेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनको कारणले भूमि बिग्रँदै जाने, माटोको उर्बराशक्ति घट्ने, जैविक क्षति हुने जस्ता कुरालाई मध्यनजर गरेर यो अभियान सुरु भएको थियो । युवाहरुले अहिलेको विश्वको समस्या देखेर नेपालमा कसरी आफ्नो भूमिका गर्ने भन्ने बारेमा जानकारी दिनका लागि यो सम्मेलन गर्दैछौ ।’

पूर्व वातावरणमन्त्री सुनिलकुमार मानन्धरले वातावरण संरक्षण र जलवायु परिवर्तनका मुद्दाहरुमा युवाहरुको के भूमिका रहन्छ भन्ने बारे जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य भएको बताए ।

उनले कार्यक्रम उद्घाटनमा प्रमुख अतिथि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, विशेष अतिथि मिस नेपाल सुरक्षा प्रधान र अतिथिको रुपमा युवा वैज्ञानिक शिशिर जिसी रहने बताए ।

यसका साथै नेपालमा वातावरण, विविधता, वन संरक्षण र खाद्य सुरक्षाको क्षेत्रमा अनुभवप्राप्त विनोद भट्ट, डा.अजय माथेमा, डा. घनश्याम गुरुङ्, डा.कुशल गुरुङ् र डा. योमुना घले मुख्य वक्ताका रुपमा सहभागिता रहने उनले बताए ।

जलवायु परिवर्तनको बारेमा दुबईमा हालै विश्व सम्मेलन सम्पन्न भएको उल्लेख गर्दै उनले त्यहाँ भएका कुरालाई कत्तिको सम्बोधन गर्न सकिन्छ र एक वर्षभित्रमा कुन रोडम्यापमा जाने तयारीमा हुनसक्छ भन्ने विषयमा मन्जित ढकाल, राजु पण्डित क्षेत्री, युवा वातावरणविद् अभिषेक श्रेष्ठ, सुरक्षा प्रधानको सहभागितामा समूहगत छलफल गरिने उनले जनाए ।

उक्त संस्थाले ल्याण्ड आवर फ्युचर, वातावरण संरक्षण, वन र जैविक विविधता संरक्षण, जलवायु न्याय, खाद्य सुरक्षा र दिगो विकास लक्ष्यहरूको क्षेत्रमा काम गर्ने युवा मञ्च रुपमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?