जिप्रकामा डिजिटल बडापत्र : फ्री–वाइफाईदेखि टेलिभिजनसम्म

जाजरकोट । जिल्ला प्रशासन कार्यालय, जाजरकोटले आज ‘सोमवार’देखि सेवाग्राहीका लागि डिजिटल बडापत्र, फ्री–वाइफाई र टेलिभिजन सेवा सञ्चालन गरेको छ ।

जिप्रकामा सोमवार सेवा लिन आएकी भेरी नगरपालिका–११ की मनसरी लोहारको हातबाट रिमोट थिचेर टेलिभिजन सेवाको शुभारम्भ गरेको हो ।

जिप्रकाबाट प्रवाह गरिने सबै सेवालाई नागरिकमैत्री बनाउने उद्देश्यले कार्यालयले जडान गरेको सिसी क्यामरा, डिजिटल बडापत्र, फ्री–वाइफाई र टेलिभिजन सेवालाई आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए ।

वि.सं २०२८ मा स्थापना भएका जिप्रकाले जिल्लाको समग्र शान्तिसुरक्षा, विपद् व्यवस्थापन, जिल्लाका सबै सरकारी कार्यालयबाट प्रवाह गरिने सेवाको अनुगमन र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट प्रत्यायोजन गरिएको अधिकारको प्रयोग गर्नु रहेको प्रजिअ बस्नेतले बताए ।

“आफैँले दैनिक नेपाली नागरिकताको प्रमाणपत्र, राहदानीलगायत विभिन्न सिफारिश गर्ने कार्यालय भएको हुँदा सेवाग्राहीको भीड लाग्ने कार्यालय भएको हो,” उनले भने ।

सेवाग्राहीको भीड लाग्ने कार्यालयलाई नागरिकमैत्री बनाउनुपर्ने उल्लेख गर्दै प्रजिअ बस्नेतले जिल्ला प्रशासन कार्यालय आफ्नै स्रोतबाट सिसी क्यामरा जडान, फ्री–वाइफाई सेवा, डिजिटल वडापत्र र टेलिभिजन सेवा जडान गरिएको बताए ।

उनले सिसी क्यामरा जडानले सेवाग्राही र कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीबीच हुनसक्ने अनुचित कार्यलाई रोक्ने विश्वास व्यक्त गरे । त्यसैगरी डिजिटल बडापत्रले कार्यालयबाट प्रवाह हुने सेवाका बारेमा सेवाग्राहीले सजिलै जानकारी लिन सक्ने जनाइएको छ ।

सोमबारको पहिलो सेवाग्राही मनसरी लोहारलाई खादा ओढाएर सम्मानसहित प्रमुख अतिथि बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?