बजेटबारे अध्ययन गर्न सांसदहरुको टोली देशब्यापी भ्रमणमा जाने

काठमाडौं । बजेटबारे अध्ययन गर्न सांसदहरुको टोली देशब्यापी भ्रमणमा जाने भएको छ ।

सांसदहरुको दुई टोली बनाएर एक टोली पूर्व र एक टोली पश्चिममा गई आर्थिक वर्ष २०७६/७७ मा समावेश गर्नुपर्ने योजनाका विषयमा छलफल गर्न लागिएको जनाइएको छ ।

संसदको अर्थ समितिले नेपाल कम्युनिस्ट पार्टीका नेता सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरी बजेटबारे अध्ययन गर्न पठाउन लागेको हो । कार्की नेतृत्वको टोलीले प्रदेश १, २ र ३ तथा पाण्डे नेतृत्वको टोलीले गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गई बजेटबारे छलफल गर्नेछ ।

पूर्वी क्षेत्रमा जाने टोलीमा सांसदहरु टोलीप्रमुख कार्कीसँगै जुलीकुमारी महतो, प्रमिला राई मेटमणि चौधरी, मोतीलाल दुगड, रामबाबु कुमार यादव र सरवत आरा खानमलगायत रहेका छन् ।

त्यस्तै पश्चिम क्षेत्र जाने टोलीमा टोलीप्रमुख पाण्डेसँगै पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, घनश्याम भुसाल, हरिराज अधिकारी, रामकुमारी झाँक्री, जयकुमार राई, तुलसी थापा लगायत रहेका छन् ।

टोलीले प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर बजेट र योजनाबारे अन्तर्क्रिया गर्ने कार्याक्रम पनि तय गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?