नेपाली कांग्रेस नुवाकोटको जिल्ला सम्मेलन सम्पन्न, शेरबहादुरदेखि शेखरसम्म कसले के भने ?

लोकपथ
378
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकल पार्टीको बहुमत आउने सम्भावना नरहेको बताएका छन् । कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्नेक्रममा सभापति देउवाले नेपालको निर्वाचन पद्धतिले गर्दा नै नेपालमा एकल पार्टीको बहुमत आउन नसक्ने बताएका हुन् ।

नेपालको संविधानको निर्वाचन पद्धतिले समावेशी, समानुपातिक हिसाबले सिट बाँडफाँड गरेको छ । ‘संविधान राम्रो हुँदाहुँदै पनि समावेशी र समानुपातिक तवरबाट सीट बाँडफाँड गर्नुपर्ने संविधानले व्यवस्था गरेको छ,’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउवाले भने, ‘संविधान असाध्यै राम्रो भएतापनि एकल पार्टीको बहुमत आउने सम्भावना छैन ।’

यसरी एकल पार्टीको बहुमत नआउने हुँदा पहिलो पार्टीले कुनै पनि राजनीतिक दलसँग मिलेर सरकार गठन गर्नुपर्ने उनले बताए । ‘हामी गत निर्वाचनबाट पहिलो पार्टी बन्यौँ तर बहुमत प्राप्त गर्न सकेनौँ,’ उनले भने ।

त्यस्तै, कांग्रेसभित्र घात अन्तर्घातको पुरानो रोग रहेकाले त्यसलाई निर्मूल गर्न गाह्रो भइरहेको समेत उनले बताए । साथै, अन्तर्घाती नेतालाई कारवाही गरौंभन्दा पार्टीभित्रबाटै विरोध हुने गरेकोसमेत उनले बताए । ‘हाम्रो पाटसर््भित्र घात अन्तर्घातको ठूलो रोग छ,’ उनी भन्दै थिए, ‘त्यस्ता अन्तर्घातीलाई कारवाही गरौँ भन्दा पार्टीभित्रबाटै विरोध गर्छन् ।’

त्यस्तै, कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र प्रतिस्पर्धा हुनु सामान्य हो तर त्यसलाई दुश्मनीको रुपमा लिँदा कांग्रेसभित्र संकट उत्पन्न भएको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र स्थापित गर्नका लागि निर्वाचन गरेका हौँ तर, यहाँ त आन्तरिक शत्रुता, वैमनश्यता निम्त्याउनका लागि गरेको होइन । यो रोग हामीले निकाल्नुपर्छ ।’

नुवाकोट कांग्रेसभित्र पनि एकले अर्कालाई नसहने प्रवृत्ति रहेको उनले आरोप छ ।

त्यस्तै, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रिपोर्ट कार्ड मागेका छन् । साथै, उनले कांग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न नहुने बताए ।

उनले भने, ‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ । मैले सुनेको अर्थमन्त्रीजी यही हुनुहुन्छ । पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछाड्नु भनेको मैले सुनेको छु । रिपोर्ट कार्ड हेर्ने होला । म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु । देशको प्रधानमन्त्रीले कस्तो काम गर्नुभयो भन्ने कुरा हुन्छ । अनि प्रधानमन्त्रीले रिपोर्ट कार्ड लिने ? हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’ संसदीय व्यवस्थामा मन्त्रीहरुले राम्रो नराम्रो काम जस्तो गरे पनि त्यसको सबै जस–अपजस प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाइ छ ।

उनले अहिले गणतन्त्रमाथि देशभर आक्रमण भएको पाइएको बताए । जनताको निराशा र आक्रोश गणतन्त्र, संघीयताप्रति नभइ नेतृत्वप्रति भएको उनको बुझाइ छ । यस्तै कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि कसैको बैशाखी टेकेर आए जस्तो आभाष भएको नेता कोइरालाले बताए ।

उनले एकले अर्काको खुट्टा तान्ने नभइ एकताबद्ध भएर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । उनले भने, तपाईंहरु कांग्रेस सकियो भन्नुहुन्छ । हामीहरुले हाम्रो संगठनलाई चुस्त बनाएर लल्गौं भने कसैले हराउन सक्दैन । हामीलाई हाम्रो साथीहरुसँग मात्रै डर लाग्छ । हामीले संगठन र विकासलाई सँगै लानुपर्छ ।’

त्यसैगरी,  कांग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले यतिबेला कांग्रेसभित्र एकताको आवश्यक रहेको बताए । ‘ देशमा जुनबेला संकट पर्छ हरेकपटक नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ,’ कार्यक्रममा बोल्दै केसीले भने, ‘जसको इतिहास छैन त्यसको वर्तमान छैन जसको वर्तमान छैन त्यसको भविष्य छैन ।’

यसैगरी, कांग्रेस नेता एवम् बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले पनि कांग्रेसभित्र गुटउपगुटको अन्त्य हुनुपर्ने बताए । निर्वाचनका कांग्रेसले नै कांग्रेसलाई हराउने प्रवृत्ति हटाउनुपर्ने उनले जोड दिए ।

नुवाकोट कांग्रेस एक हुने हो भने कसैले पनि हराउन नसक्ने उनको दाबी छ । ‘नुवाकोट कांग्रेसमा जुँगाको लडाइँ छ त्यसको अन्त्य नगरी हामी अघि बढ्न सक्दैनौँ,’ उनले भने ।

यस्तै, नेपाली कांग्रेस नुवाकोट पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पनि पार्टीभित्र एकता चाहिएको बताए । ‘अब कांग्रेसलाई गुट उपगुटको राजनीति चाहिएको छैन, अधिवेशनमा कसले कहाँ भोट हाल्यो त्यो पनि छोडौँ,’ उनले भने, ‘अब नयाँ शिराबाट नेपाली कांग्रेसलाई रुपान्तरण गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?