कांग्रेस एकतावद्ध भएर अघि बढ्न सके कसैले पछाडि पार्न सक्दैन् : महामन्त्री डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् । 

नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज ‘आइतवार’ आयोजित ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताए । 

महामन्त्री डा.कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको समेत जानकारी दिए ।

‘म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके कांग्रेसलाई कसैले जित्न सक्दैन, कांग्रेस फेरि ठूलो पार्टी हुन्छ’, उनले भने । 

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, प्रदेश नं ३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, भक्तपुर कांग्रेसका पूर्वसभापति गणेशमान चक्रधर, काङ्ग्रेस नेता अष्टकुमार कबे, क्षेत्र नं १ का सभापति जीवन खत्री, नेता मदनकृष्ण श्रेष्ठ, सङ्घका जिल्ला सभापति सरु बानियाँ लगायतले काङ्ग्रेसभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिए । 

त्यसै महामन्त्री डा. कोइरालाले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको आरोप समेत लगाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?