काठमाडौं । आइतवार साँझ आएको हावाहुरीका कारण पूर्वी तराईका बारा र पर्सा जिल्ला नराम्ररी प्रभावित भयो । हावाहुरीका कारण २७ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढि घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
बारामा सबैभन्दा बढी मानवीय क्षति हुनुका साथै धनको पनि क्षति भयो । राहत तथा उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य निकाय परिचालित भइरहेका छन् ।
बाराका डिसपी हेमबहादुर शाहीका अनुसार अहिले बाराको स्थिति सामान्य रहेको छ । विभिन्न संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यलयसँग समोन्वयन गरेर राहत वितरणको कामहरु भइरहेको पनि शाहीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी नारायण भटराईको अध्यक्षतामा सहायक प्र.जि.अ नेत्र शर्माको संयोजनमा राहत संकलन तथा वितरण संयोजन समिति गठन गरिएको छ । उक्त समितिको समन्वयमा मात्र एक द्धारप्रणलीमा राहत वितरण गरिने निर्णय गरिएको डिसपी शाहीको भनाई छ ।
पर्सामा पनि राहत वितरणको काम भइरहेको छ ।
हावाहुरी प्रभावीत क्षेत्रमा पनि नपरेको भइपनि मौसम अनुकुल नभएको शाहीले बताए ।
'पानी परेको त छैन, हावाहुरी शुरु भएको छ' उनले भने, 'मौसमका कारणले पनि राहत वितरणमा कठिनाई भइरहेको छ ।'
हावाहुरी प्रभावितहरूलाई नेकपा सांसदहरूले एक दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने जनाइएको छ ।
पाँचसय वढी परिवारलाई राहत सामग्री प्रदान
बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले पारेको विपद्बाट घर पूर्णक्षति भएका ५ सय ३५ परिवारलाई नेपाल रेडक्रसले तत्कालको सहयोगस्वरुप गैरखाद्य सहयोग सामग्री सेट शुक्रबार साँझसम्म उपलव्ध गराएको छ ।
यसबाट २६०० बढी मानिसहरु प्रत्यक्ष लाभान्वित भएका छन् । वितरित हरेक सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६ मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन् ।
यसका अतिरिक्त ६१२ परिवारलाई तारपोलिन तथा डोरी, १०० वटा वस्ने म्याट्रेस र ४० वटा कम्मल पनि वितरण गरिएको छ । तयारी खाना भने ३६४ परिवारलाई वितरण गरिएको छ ।
स्वास्थ्य अवस्थालाई ध्यानमा दिई १० हजार थान साबुन, पानी सुद्धिकरणको लागि एकलाख वटा ट्यावलेट, पानी राख्ने बाल्टी, सरसफाईका अन्य सामग्री ५०० सेट र २० वटा आपत्कालीन चर्पी पनि प्रभावित क्षेत्रमा पठाइएको छ । ५०० वटा झूल वारामा पठाइएकोमा १०० वटा परिवारलाई आज वितरण गरिएको छ ।
प्रारम्भिक सर्वेक्षण अनुसार हावाहुरीले २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्याँक संकलन गरिएको हो । बारामा १,८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् । विस्तृत सर्बेक्षणको लागि बारा र पर्सा दुवै जिल्लामा तालिम सम्पन्न भैसकेको र पर्सामा सर्वेक्षण भोली सम्म सकिनेछ । बारामा आइतबार बेलुकीसम्म विस्तृत सर्बेक्षण सकिने अनुमान छ ।
विभिन्न सहयोगको लागि रेडक्रसका ९९ स्वयंसेवक हरेकदिन खटिएका छन् ।
केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् र लेखाजोखा तथा समन्वयको लागि २ वटा टोली खटिएको छ । खानेपानी तथा सरसफाईको राष्ट्रिय विपद् प्रतिकार्य टोली आजैदेखि कार्यसुरु गरेको छ । केन्द्रीय कार्यालयमा आपत्कालीन केन्द्रले कार्यगरिरहेको र समय सिफ्ट मिलाई हरेक दिन २१ जना कर्मचारीहरु त्यसमा खटिएका छन् ।
त्यसैगरी, राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले वारा, पर्साका हावाहुरी पिडितलाई राहत वितरण गरेका थिए । अध्यक्षद्वय राणा र लोहनीले शुक्रबार प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी क्षतिबारे जानकारी लिए ।
बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि प्रदेश नम्बर ५ सरकारले १ करोड राहत सहयोग पठाउने निर्णय गरेको छ ।प्रदेश सरकारको मन्त्री परिषदको शुक्रबार बसेको बैठकले प्रदेश नम्बर २ सरकारको आकस्मीक राहत कोष खातामा प्रदेश ५ सरकारको तर्फबाट राहत सहयोग पठाउने निर्णय गरेको हो ।
पोखरा चेम्बर्स अफ कमर्श कास्कीले आर्थिक सहयोग गरेको छ । चेम्बर्स अफ कमर्शको केन्द्रीय कार्यालयमार्पmत प्रधानमन्त्री राहात कोषमा ८२ हजार पठाइएको महासचिव उमराज बाँस्तोलाले जानकारी दिएका थिए ।
बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश नं–१ मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति दिएको छ ।
विपद् व्यवस्थापन समिति सिन्धुलीले बारा र पर्साका हावाहुरी पीडितको पुनःस्थापनाका लागि राहातस्वरुप १० लाख दिने निर्णय गरेको छ ।
बारा र पर्साका विनाशकारी हावाहुरी पीडितहरुका लागि नया शक्ति नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । अध्यक्ष भट्टराईले कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायत अन्य शिर्ष नेतहरुले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरेका थिए ।
आइतवार साँझ काठमाडौं उपत्यकासहित देश भर आँधीहुरीसहित असिना पानी पर्यो । तर, त्यस दिन आएको आँधीले तराई–मधेशको बारा र पर्सामा भने वितण्डा नै मच्यायो । पक्की घरहरुसमेत उडायो । यात्रा गरिरहेका मानिसहरुलाई सडक छेउमा रहेको खेतमा पुर्यायो । हजारौँ मानिस घरवारविहिन भए । यो आँधीबेहरीले झण्डैझण्डै २०७२ वैशाख १२ गते गएको महाभूकम्पको याद दिलायो ।
बारा र पर्सा जिल्ला तहसनहस भयो । विनाशकारी आँधीले बाराको फेटा गाउँपालिका वडा नम्बर १,३, ६ र ७ को भलुही, परैनिया र भलवरीयामा सबैभन्दा बढी क्षति पुगेको छ ।
देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयांग सहित वर्षा गराउने बादल विकसित हुनुको साथै , काठमाडौं उपत्यका लगाएत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित वर्षा भैरहेको छ । बारा र पर्सामा आइतबार गएजस्तो डराउनै पर्ने हावाहुरी जाने खतरा नभएको मौसमविद्हरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया