आज घोडेजात्रा मनाइँदै, यस्तो छ जनविश्वास

काठमाडौं । आज घोडेजात्रा, चैत्र कृष्ण औँसीका दिन शुक्रबार काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।

घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यस दिन काठमाडौको टुँडिखेलमा हज्जारौं सर्वसाधारणकाबिच नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरु प्रर्दशन गर्ने गर्दछन् ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।    

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रा मध्येको एक हो।

सरकारले काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । 

घोडेजात्रा किन मनाइन्छ ? 

परापूर्व कालमा टुँडिखेलको पुर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नकालागि अनेक उपायहरु खोज्न थाले ।

त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती रहेको छ । अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउनसक्ने  भनाई छ ।

अर्कोतर्फ प्रत्येक बर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ बर्षको थालनी हुने मान्यता रहेको छ । त्यहि आधारमा अघिल्लो दिन चैत्र कृष्ण औंसीमा अश्वयात्रा गरेर अर्थात घोडा हिडाएर  नयाँ बर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?