एसईई प्रश्नपत्र आउट प्रकरण : पक्राउ परेका ६ जना सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौं । माध्यमिक शिक्षा (एसईई)को प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले आज (बिहीवार) सार्वजनिक गरेको छ । 

दिउँसो २ः३० बजे जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । 

प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डल, सहित ६ जना पक्राउ परेका थिए । जवान सुनरैत सप्तरी राजविराज नगरपालिका १० र मण्डल सप्तरी कंचनरुप नगरपालिका ६ का स्थायीबासिन्दा हुन् ।  

साथै सप्तरी राजविराज नगरपालिका १० बस्ने वर्ष २८ को विष्णूदेव यादव, १६ बस्ने २८ को मनोज यादव, सप्तरी हनुमाननगर कंकालिनी नगरापलिका १ बस्ने वर्ष १७ को राजेश यादव र वर्ष १७ को उमेश यादव रहेका छन् । 
यही चैत १० गतेबाट शुरु भएको एसईई परीक्षा अन्तर्गत १४ र १५ गते लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । 

लगातार दुईदिन एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले  नेपाल प्रहरी केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)लाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । 

प्रदेश २ मा लगातार दुई दिन प्रश्नपत्र आउट भएपछि एसईई परीक्षा स्थगित गरिएको थियो । स्थगित परीक्षा पुनः सञ्चालन गर्न नयाँ परीक्षा तालिका समेत सार्वजनिक भइसकेको छ । 

नयाँ तालिका अनुसार प्रदेश २ मा यही चैत २२ गतेदेखि पुनः एसईई परीक्षा सञ्चालन हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?