बाहिरी चक्रपथको कामले गति लिएन

काठमाडौँ-काठमाडौं उपत्यकाको शहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित बाहिरी चक्रपथ स्वीकृत भएको वर्ष दिन बित्नलाग्दा पनि काम अगाडि बढ्न सकेको छैन ।
मन्त्रिपरिषद्को २०७५ वैशाख ४ गते बसेको बैठकले बाहिरी चक्रपथ विकास आयोजनालाई स्वीकृति प्रदान गरी निर्माण कार्यलाई अगाडि बढाउने निर्णय गरेको थियो । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको वाहिरी चक्रपथको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) लाई मन्त्रिपरिषद्को सोही बैठकले स्वीकृत गरेको थियो ।
बाहिरी चक्रपथ विकास आयोजनाका अनुसार मन्त्रिपरिषद्ले प्रस्तावित चक्रपथको दायाँबायाँका जग्गालाई ‘जग्गा एकीकरण’ को माध्यमबाट विकास गरी भौतिक विकास योजना सञ्चालन गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।
आयोजना अगाडि बढाउने बारेमा भने अधिकारीहरूको एउटै मत छैन । शहरी मन्त्री मोम्मद इश्तियाक राईले आर्थिक अभावमा आयोजनाको काम अगाडि बढ्न नसकेको जानकारी दिनुभयो । आयोजना प्रमुख दिलिप भण्डारीले पैसाको अभाव नभई कानुनी अड्चनले काम अगाडि बढ्न नसकेको बताउनुभयो ।
“यस आयोजनालाई मूर्तरुप दिन स्रोतको सुनिश्चित्ताका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गर्नुपर्छ,” मन्त्री राईले स्पष्ट पार्दै थप्नुभयो, “झण्डै सवा खर्ब रुपियाँ आवश्यक पर्ने यस आयोजनामा स्रोतको सुनिश्चित्ता नभएसम्म जग्गा अधिग्रहण गरेर केही भूमाफियाहरूको चलखेल मात्र बढ्ने छ ।’’
अर्थ मन्त्रालयबाट आवश्यक वजेट विनियोजनका साथै निर्माण ‘मोडेल’ को सुनिश्चित्ता नभएसम्म चक्रपथको निर्माण कार्य अगाडि बढ्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । कुल ७२ किलोमिटर लम्बाई रहेको प्रस्तावित चक्रपथको चौडाई ५० मिटर रहने छ । गाेरखापत्र दैनिकमा खबर छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?