कोशीको विषय मिलाउन राष्ट्रपति समेत सक्रिय, शेखरलाई फोन गरेर के भने ?

लोकपथ
812
Shares

काठमाडौं । कोशी प्रदेश सरकार गठनको विषयले यतिबेला राजनीति गर्माएको छ ।

कोशीमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले आजसम्मको मिति दिएर सरकार गठनका लागि आह्वान गरेका छन् । सो क्रममा गठबन्धनबाट माओवादी केन्द्र कोशी प्रदेशका माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेश गरेका छन् । यता एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले पनि आफ्नो दाबी पेश गरेका छन् ।

कोशीको राजनीतिका विषयमा केन्द्रमा त त्यसको असर छदैँथियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले समेत त्यसमा चासो देखाएका छन् । राष्ट्रपति पौडेलले कांग्रेस नेता डा. शेखर कोइरालालाई फोन गरेर कोशीमा गठबन्धन नेतृत्वकै सरकार बनाउनका लागि दबाव दिएका छन् । उनले डा. कोइरालालाई मिलेर अघि बढ्न सुझाव दिएको कोइराला निकट स्रोतले लोकपथलाई जानकारी दियो ।

स्रोतका अनुसार राष्ट्रपति पौडेलले कोशीको विषयमा मिलेर अघि बढ्न सुझाव दिए पनि डा. कोइरालाले भने पार्टीभित्र आफूले समन्वयकारी भूमिका खेल्दा कुनै सुनुवाइ नभएको भन्दै आफूले कदम चालेको बताए । कोशीमा एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी गरेका कार्की शेखर निकट हुन् ।

राष्ट्रपतिसँग शेखरको फोन संवादलाई उदृत गर्दै स्रोतले लोकपथसँग भन्यो, ‘राष्ट्रपति ज्यूले डा. सापलाई फोन गरेर त्यसको विषयमा चासो राख्नुभएको थियोे साथै गठबन्धनलाई सहज हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।’ स्रोतले भन्यो, ‘तर डा. सापले आफूले कोशीका विषयमा कांग्रेसबाटै जो सुकैलाई मुख्यमन्त्री बनाऔँ भन्दा पार्टीमा आफ्नो कुरा सुनुवाई नभएको कारणले म ब्याक हट्दिन भन्ने सन्देश दिनुभयो । मैले पार्टीलाई एक ढिक्का बनाउँदै कोशीको स्थायीत्वका लागि पहल गरौँ भने तर सभापति जि लगायत कुनै पनि जिम्मेवार नेताले कुरा नसुनेपछि मैले कदम चालेको हुँ भनेर भन्नुभयो ।’

कोइराला निकटका कार्कीले कोशीमा ८ प्रदेश सभा सदस्यसहित दाबी पेश गरेपछि सभापति शेरबहादुर देउवाले नेताहरुलाई सम्पर्क गर्न लगाएर कोशी मामिला सल्टाउन आग्रह गरेका थिए । सो क्रममा देउवाका विश्वासपात्र ज्ञानेन्द्र कार्कीले डा.कोइरालालाई सम्पर्क गरेका थिए । तर कोइरालाले आफूले कोशीमा गरेको निर्णयबाट कुनै पनि हालतमा ब्याक नहट्ने प्रतिक्रिया दिएको कोइराला निकट स्रोतले लोकपथलाई जानकारी दियो ।

‘सभापति ज्यू को आग्रहमा ज्ञानेन्द्रबहादुर कार्कीले समेत फोन गर्नुभएको थियो । तर डा. सापले पार्टी मिलाउनका लागि आफूले प्रयास गर्दा पार्टीबाट वेवास्ता पभएपछि आफूले कदम चालेको प्रतिक्रिया दिनुभयो ।’ स्रोतले भन्यो, ‘डा. सापले कार्की ज्यूलाई आफूले सभापतिसहित महामन्त्री र अन्य पदाधिकारीहरुलाई त्यस विषयमा पटकपटक जानकारी गराउँदा पनि कुनै चासो नदेखाएपछि मैले यो निर्णय लिएको हुँ र म कुनै पनि हालतमा ब्याक हुँदिन भन्नुभयो ।’

यता प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्ड समेत डा. कोइरालालाई फोन गरेर कोशीमा गठबन्धन नेतृत्वमा सरकार बनाउन आग्रह गरेका थिए । तर डा. कोइरालाले भने आङ्बोको दाबी फिर्ता गरेर कांग्रेसलाई समर्थन गर्न आग्रह गरेको स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?