काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले जति प्रयास गर्दा पनि अर्थतन्त्रका समस्यासम्म बुझ्न नसक्ने भन्दै देशको अर्थतन्त्र लयमा फर्काउन सक्ने कुनै सम्भावना नरहेको दाबी गरेका हुन् ।
उनले भने, ‘यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने र देशका आर्थिक क्षेत्रका समस्या समाधान हुने कुनै पनि सम्भावना छैन । जति प्रयास गर्दा पनि अर्थतन्त्रका समस्या बुझ्न पनि सक्दैन । समस्या समाधानका लागि नीतिगत व्यावहारिक निर्णय गर्न पनि सक्दैन ।’
उनले निजी क्षेत्रको समस्या समाधानका लागि सरकार सहयोग नबनी बाधक बन्छ भने त्यसलाई पन्छाएर समस्या समाधान गर्नुपर्ने बताए ।
उनले भने, ‘निजी क्षेत्रको समस्या समाधानका लागि सरकार सहयोगी बन्दैन भने, समस्या समाधानका लागि बाधक बन्छ भने त्यो बाधा पन्छाएर भए पनि यहाँहरूको समस्या समाधान गर्नुपर्छ ।’
उनले ज्ञापनपत्र बुझाएर सरकारले समस्या नदेख्ने भन्दै निजी क्षेत्रलाई सदन र सडकबाट दवाव दिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया