पर्यटनमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, श्रीमती र छोराहरुले दिए दागवत्ती

पोखरा । हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा श्रीमती र छोराहरुले दागवत्ती दिएका छन् । 
उनको राजकीय सम्मानका साथ गृहनगर पोखरामा अन्त्येष्टि गरिएको हो ।

पोखराको रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । 

पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए ।

अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो ।

अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ । 

उनको काजकिरिया पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।

यसैगरी आजै काठमाडौंको पशुपति आर्यघाटमा पाँच जनाको दाहसंस्कार गरिएको छ । 

पशुपतिमा नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको दाहसंस्कार गरिएको हो ।  

साथै यति एयरलाइन्स कम्पनीका प्रबन्ध निर्देशक आङ्ग छिरिङ्ग शेर्पाको शव पनि उनकै गृहनगर लगिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?