काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरलाई काठमाडौंको टुँडिखेलमा अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित सातै जनाको निधन भएको थियो ।

श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगेका छन् ।
टुँडिखेलमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका आफन्त मात्र नभएर टुँडिखेल नै शोकमा डुब्यो । दिगंवत आफन्तलाई अन्तिम श्रद्धाञ्जली दिदा भावविह्वल भएका परिवार मात्र नभए टुँडिखेल वरपर क्षेत्र थप रोदन बन्यो ।
आफैं भावविह्वल बनेकाहरुले शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।

हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, सफल पर्यटन उद्यमी तथा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, हेलिकोप्टर पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षागार्ड नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो ।

बिहीवार दिउँसो ताप्लेजुङबाट नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट दिवंगत सातै जनाको शवहरु काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याईएको सातैजनाको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।

बिहीवार दिउँसो ३ बजेनै दिवंगतलाई अन्तिम श्रद्धाञ्जली दिने भनिए पनि पोस्टमार्टममा भएको ढिलाइले आज गरिएको हो ।
मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन बिहानैदेखि सर्वसाधारण टुँडिखेल पुगेका थिए ।
श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत सर्वसाधारणहरु पनि उल्लेख्य उपस्थिति छ ।
श्रद्धाञ्जलीपछि सातै जनाको शव आफन्तलाई जिम्मा दिइने छ । यसैबीच पर्यटनमन्त्री अधिकारीको अन्तिम संस्कार गृहनगर पोखरामा हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया