ताप्लेजुङ्गको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भयो ।
दुर्घटनामा परि मृत्यु हुनेमा हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नागरि उड्डयन प्रविकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र अर्जुनकुमार घिमिरेको मृत्यु भएको हो ।
हेलिकप्टर दुर्घटनामा उद्यमी आङछिरिङ शेर्पाको मृत्युको खबरसंगै धेरैले उनको तस्वीर खोज्ने प्रयास गरे । केही अनलाईन मिडियामा शेर्पाको तस्वीर नै गलत प्रयोग गरिएको थियो । र त्यहि अनलाईनको तस्वीर डाउनलोड गरेर सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रद्धान्जली र समवेदना व्यक्त गरेका थिए ।

सार्वजनिक रुपमा आफ्नो प्रचार धेरै गर्न नचाहने शेर्पाका तस्वीरहरु इन्टरनेटमा खासै भेटिंदैनन् । तर, उनी आफ्नो क्षेत्रको शक्तिशाली व्यक्तित्व मानिन्थे ।
तर धेरैजनालाई थाहा नहुन सक्छ चर्चित उद्यमी आङछिरिङ शेर्पा चर्चित सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पाका साँहिला देवर हुन् ।
पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्दै गर्दा आङ छिरिङ ट्रेकिङ व्यवसायमा थिए, जो पछि विमानका मालिक बने । आङ छिरिङको शेर्पा सम्पन्न परिवारका हुन् । सोलुखुम्बुको साविक जुविङ गाविस, (पासाङ ल्हामु गाउँपालिका) मा साहिँला छोराको रुपमा उनी जन्मेका थिए ।
आङ छिरिङ सन् १९९८ सम्म ट्रेकिङ व्यवसायमा थिए । सन् १९९८ मा उनीहरुले यति एयरलाइन्स शुरु गरे । एउटा ट्वीनअटर विमानबाट यात्रा थालेको यति एयरलाइन्ससँग अहिले भगिनी तारा एयर सहित गरी करिब डेढ दर्जन विमान छन् ।
२१ वर्षदेखि निरन्तर चलिरहेको यतिले हाल साढे ९ सय मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।
यसका अतिरिक्त आङ छिरिङका अन्य कम्पनिमा पनि आवद्ध थिए । काठमाडौंको चर्चित गोकर्ण रिसोर्ट, चितवनको कसरा रिसोर्टदेखि लिएर ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सीहरु देशैभरि छन् । यति बाहेक हिमालय एयरलाइन्स र तारा एयरलाइन्स पनि आङ छिरिङकै हुन् । यस्तै सोलुखुम्बुको यति माउन्टेन होम पनि यही समूहको हो । यस्तै केर एन्ड ड्वेनी नेपाल, कोरा टुर, यति एड्भेन्चर, यति होलिडेज लगायतका थुप्रै ट्राभल र टुर्सहरु पनि शेर्पाकै हुन् ।

आङछिरिङको परिवारले हेलिकप्टर दुर्घटनामा आफ्ना प्रियजन गुमाउनु परेको भने यो पहिलो पटक होइन ।
आङछिरिङका कान्छा भाइ आङटेण्डी शेर्पा सन् २००१ मा उच्च हिमाली क्षेत्रमा फँसेका पर्यटकको उद्धारको प्रयास गरिरहँदा हेलिकप्टर दुर्घटनामा परेका थिए र उनको मृत्यु भयो ।
आङछिरिङका जेठा दाई लाक्पा सोनाम शेर्पा चढेको एयर डाइनेस्टीको हेलिकप्टर पनि सोलखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । तर त्यसबेला सोनामलाई केही भएन उनी सकुशल रहे ।
त्यसअघि, सन् १९९२ मा सोनामकी श्रीमति अर्थात् आङछिरिङकी भाउजु पासाङल्हामु शेर्पाको सगरमाथा पर्वतारोहणका क्रममा मृत्यु भएको थियो । उनी ८,८४८ मिटर अग्लो चुचुरो चुम्ने पहिलो नेपाली महिला हुन् ।
आङ छिरिङको ५८ वर्षको उमेरमा निधन भएको हो । हाल उनका श्रीमती र दुई छोरा छन् । दुबै छोरा व्यवसायमै छन् । पछिल्लो समय आङ छिरिङ यति एयर लाइन्सका प्रवन्ध निर्देशक थिए । दुर्घटनामा परेको डाइनास्टी हेलिकोप्टरमा पनि उनको सेयर लगानी छ । हिमालय एयर उनको पछिल्लो व्यवसाय हो ।

एउटा सफल व्यवसायीको निधनले देश शोकमग्न छन् । धेरैले सामाजिक सञ्जालबाट नै उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया