नेपालमै पहिलोपटक स्ट्रोकको बारेमा नर्सिङ सम्मेलन, दुईसय बढी नर्स सहभागि

लोकपथ
2.5k
Shares

काठमाडौं । नेपालमै पहिलोपटक पक्षघात (स्ट्रोक)सँग सम्बन्धित नर्सिङ सम्मेलन ‘नर्सिङटन’ सम्पन्न भएको छ । नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट, नेशनल न्यूरो सेन्टर, ग्राण्डी इन्टरनेशनल हस्पिटल र मनमोहन मेमोरियल अस्पतालको संयुक्त आयोजनामा शुक्रबार सो सम्मेलन सम्पन्न भएको हो ।

नेपालमा पछिल्लो समय पक्षघातका बिरामी बढ्दै सन्दर्भमा नर्सहरुलाई स्ट्राकको बारेमा जानकारी दिने उद्धेश्यले उक्त सम्मेलनको आयोजना गरिएको नेशनल न्यूरो सेन्टरकी प्रमुख कार्यकारी अधिकृत नूमा शर्माले जानकारी दिइन् ।

‘एडभान्समेन्ट इन स्ट्रोक केयर ः नेप्लीज नर्स इन एक्सन’ भन्ने नाराका साथ आयोजना गरिएको नर्सिङटनमा देशका विभिन्न अस्पतालमा कार्यरत नर्सहरुको उपस्थिति रहेको थियो । साथै, नर्सिङ अध्ययन गरिरहेका विद्यार्थीहरुसमेत सम्मेलनमा सहभागि भएका थिए ।

सम्मेलनमा स्ट्रोकसँग सम्बन्धित १६ वटा प्रस्तुति प्रस्तुत गरिएको थियो । जसमध्ये भर्चुअलमार्फत जर्मनीबाट दुईजना र बेलायतबाट एकजनाले स्ट्रोकबारे प्रस्तुति दिएका थिए ।

तीनवटा सेसनमा भएको प्रस्तुतिको पहिलो सेसनमा सेन्टरकी सिइओ शर्माले स्ट्रोेकको समग्र पक्षको बारेमा जानकारी गराएकी थिइन् । त्यस्तै, ग्राण्डी अस्पतालकी वरिष्ठ नर्स सरु श्रेष्ठले एक्युट स्ट्रोक केयर एण्ड थ्रोम्बोलाइसीसका बारेमा प्रस्तुति दिएकी थिइन् ।

यसैगरी, वीरेन्द्र सैनिक अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा. पवन बहादुर भण्डारीले सेरेब्रल रिभास्कुलराइजेसन टुवार्डस् अ कप्रिहेन्सिप म्यानेजमेन्टका बारेमा अवगत गराएका थिए ।
त्यस्तै, वीरेन्द्र अस्पतालकै नर्स पूनम पन्तले बिरेन्द्र अस्पतालमा स्ट्रोकका बिरामीलाई कसरी केयर गरिन्छ र कसरी गर्नुपर्छ भन्नेबारेमा आफ्नो दृष्टिकोण राखेकी थिइन् । त्यस्तै, जर्मनीबाट सोनु ठकुरी र जेसिका गोलेनियाले नर्सको भूमिकाका बारेमा प्रस्तुति दिएका थिए ।

यसैगरी, दोस्रो सेसनमा चितवन मेडिकल कलेज (सिएमसी)की डा. कल्पना शर्माले स्ट्रोकका बिरामीको हेरचाहदेखि उपचारसम्मको विषयवस्तुका बारेमा प्रस्तुति दिएकी थिइन् । त्यस्तै, शहीद गंगागाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक एवम् मुटुरोग विशेषज्ञ डा. चन्द्रमणी अधिकारीले कार्डियाक इन्टरभेन्सन फर स्ट्रोक प्रिभेन्सनका बारेमा प्रस्तुति दिएका थिए ।

त्यस्तै, ग्राण्डी अस्पतालकी वरिष्ठ नर्स प्रतिक्षा पन्तले सेल्फ केयर म्यानेजमेन्ट अफ स्ट्रोक पेसेन्टबारे प्रस्तुति दिएकी थिइन् । यसैगरी, ग्राण्डीकै वरिष्ठ नर्स हिरा डंगोलले कम्प्रिहेन्सिव न्यूट्रिस्नल एसेसमेन्ट फर स्ट्रोक पेसेन्ट्स बारे अवगत गराएकी थिइन् । जर्मनबाट डा. क्रिस्टिन टुन्कलले नर्सिङ इन स्ट्रोक केयरको महत्वका बारेमा भर्चुअलमार्फत प्रस्तुति दिएकी थिइन् ।

सम्मेलनमा बी एण्ड बी अस्पतालकी नर्सिङ निर्देशक एवम् क्याम्पस प्रमुख डा. रोजी श्रेष्ठले निजी अस्पतालमा आउने उच्च रक्तचापका बिरामीलाई स्ट्रोकका बारेमा कसरी सचेतना गराउन सकिन्छ भन्नेबारे प्रस्तुति दिएकी थिइन् ।

त्यस्तै, बेलायतबाट डा. शान्ती शंकरले स्ट्रोकपछि बिरामीमा आउने मानसिक तथा भावनात्मक परिवर्तनका जानकारी गराएकी थिइन् । पोखरा नर्सिङ क्याम्पसकी डा. कल्पना शर्माले अस्पतालमा भर्ना भएका स्ट्रोकका बिरामीको रिकभरका लागि योगको प्रयोगका बारेमा प्रस्तुति दिएकी थिइन् ।

त्यस्तै, नेशनल न्यूरो सेन्टरकी फिजियोथेरापिष्ट मटिना मानन्धरले हेमिप्लेजिक सोल्डर पेनका बारेमा अवगत गराएकी थिइन् । यसैगरी, ग्राण्डी अस्पतालका वरिष्ट न्यूरोलोजिष्ट डा. राजु पौडेलले पोष्ट थ्रम्बोलाइसिस एण्ड आइसीयू केयर अफ स्ट्रोक पेसेन्ट सम्बन्धि प्रस्तुति दिएका थिए । सम्मेलनको अन्त्यमा नेशनल न्यूरो सेन्टरका वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले स्ट्रोक नर्स ः किन, कहाँ र कसरी शुरु गर्न सकिन्छ भन्नेबारे प्रस्तुति दिएका थिए ।

साथै, यस्तो खाले कार्यक्रम अब देशव्यापी रुपमा लैजाने उनले बताए । ‘हामीले स्ट्रोकका बारेमा नर्सहरुलाई ज्ञान दिने उद्धेश्यले नर्सिङकनको शुरुवात गरेका छौँ,’ उनले भने, ‘अब यो कार्यक्रमलाई निरन्तरता दिँदै देशभर यो कार्यक्रम सञ्चालन गर्नेछौँ ।’ अहिले नेपालमा स्ट्रोकसँग सम्बन्धित नर्स नरहेको उनले बताए । अब यस्ता सम्मेलनले नर्सलाई स्ट्रोकका बारेमा जानकारी दिनुका साथै नीति निर्माण तहमासमेत प्रभाव पार्छ भन्ने विश्वास लिएको छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?