कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स

लोकपथ
0
Shares

चितवनको इच्छाकामना गाउँपालिकाले यहाँका कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसाल, वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।

इच्छाकामनाको पहाडी भेगका कृषकले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज ढुवानीका लागि आर्थिक वर्ष २०७९÷८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको हो । एम्बुलेन्सको लागत ‘भ्याट’सहित रु २५ लाख ३४ हजार नौ सय ९९ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए ।

उनका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले लगानी गरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको छ ।

एम्बुलेन्स सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नं १ र २ का काउले, हपनी, मायाटारलगायतका पहाडी भू–भागमा रहेका किसान लाभान्वित हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?