प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा केही उडान प्रभावित भएको हो । मनसुनमा यसै पनि केही उडान प्रभावित हुन्छन् यद्यपी पछिल्लो समय नेपालमा विकसित भएको मनसुनी प्रणालीको प्रभावले ‘इनरुट वेदर’ छिन छिनमै परिवर्तन भइरहने हुनाले सामान्य उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले पछिल्ला दिनमा प्रतिकूल मौसमका कारण आन्तरिक उडान केही मात्रामा प्रभावित हुँदै आएको बताए । इनरुट वेदर बिग्रिएर उडान प्रभावित भएर उडान ढिलो भए पनि उडानै रद्द गर्नुपर्ने अवस्था नरहेको उनले उल्लेख गरे । “आन्तरिक उडानमा सामान्य प्रभावित छ, काठमाडौँ विमानस्थल र बाहिरहका स्टेशनमा पनि जहाज केहीबेर आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । उडान पूर्वनिर्धारित समयमा नभए पनि रद्द गर्नुपर्ने अवस्था छैन”, सूचना अधिकारी कर्णले भने ।
मनसुनमा बदली र वर्षाले कतिपय गन्तव्यको उडान प्रभावित हुँदै आएका छन् । जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
अहिले राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया