प्रधानमन्त्रीको अभिव्यक्तिमा रुमल्लियो राजनीति, आज पनि तीन शीर्ष नेताहरुको छलफल

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डसहित तीन शीर्ष नेताहरुको बैठक शुरु भएको छ । यसअघि आइतबार पनि प्रधानन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

प्रधानमन्त्रीले असार १८ गते भारतीय नागरिक प्रीतम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको भन्ने अभिव्यक्तिको विरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो । साथै प्रधानमन्त्रीको सचिवालयले निकालेको विज्ञप्तिमा विभिन्न आरोपहरु लगाइएको भन्दै प्रधानमन्त्रीले सदनमा त्यसको जवाफ दिनुपर्ने मागहरु एमालेको रहेको छ ।

आइतबार निष्कर्ष निस्किन नसकेपछि अहिले बैठक जारी रहेको एमाले प्रमुख सचेतक पदम गिरीले लोकपथलाई जानकारी दिए । प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने आफूहरुको अडान रहेको उनले बताए ।

‘तीन शीर्ष नेताहरुको छलफल जारी रहेको छ । प्रधानमन्त्रीको गलत अभिव्यक्ति र उहाँको सचिवालयले घटनाको ढाकछोप गर्न निकालेको विज्ञप्तिमा उल्लेख गरिएको तथ्यहिन आरोपहरुको खण्डन नभएसम्म हामी आफ्नो अडानबाट हट्दैनौँ ।’ गिरीले भने ।

आज तीन बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । यसअघि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक छलफलबाट निष्कर्ष ननिस्किएपछि ३ बजेका लागि सारिएको थियो । भने एमालेको अडान कायमै रहेपछि बैठक आजसम्मका लागि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?