पर्यटन मन्त्रालयले कोशी प्रदेश नलेखेपछि एमालेको विरोध, कार्यसूचीबाट हटाइयो

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेले प्रदेशसभाबाट दुईतिहाइले पारित भएको कोशी प्रदेश नाम संघीय सरकारले अस्वीकार गरेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले पर्यटन मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि वितरण गरिएको पुस्तकमा कोशी प्रदेश नाम अस्वीकार गरेर प्रदेश १ राखिएको भन्दै आपत्ती जनाएका हुन् ।

‘संविधानको धारा २९५ को उपधार २ बमोजिमको व्यवस्था प्रतिकुल विषयमा हामी छलफल गर्न गइरहेका छौं । आजको कार्यसूचीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल गरिरहेका छौं । हामी वार्षिक विकास पुस्तिकामा पनि छलफल गरिरहेका छौं । तर, यो पुस्तकमा नेपालको संविधानले दिएको अधिकारभन्दा बाहिर गएर केही विषय उल्लेख गर्नुभएको छ। हाम्रो संविधान र देशले प्रदेश १ चिन्दैन ।’ बर्तौलाले भने ।

प्रदेशसभाले दुई तिहाइबाट आफ्नो नामांकन गरिसकेको छ । तर, पर्यटन मन्त्रालयले अस्वीकार गरेर प्रदेश १ मा यति विनियोजन गरिएको छ भन्ने उल्लेख गरिएको छ । यो प्रदेशसभाको विशेधिकारको हनन हो । यो देशले नचिन्ने प्रदेशहरूमा छुट्याइएको बजेटमा छलफल अगाडि बढ्न सक्दैन । त्रृटि भएको भनेर मन्त्रालयले ल्याउँछ भन्ने सोच्न सकिएला अन्यथा संविधानले नचिन्ने यो विषयमा अगाडि बढ्दैन । कार्यसूचीबाट हटाइयोस् ।’ उनले थपे ।

एमालेको आपत्तिपछि पर्यटनमन्त्री सुदन किरातीले कोशी प्रदेश हुनुपर्नेमा प्रदेश १ भएकाले सच्याएर ल्याउने प्रतिबद्धता जनाएका थिए । सभामुख देवराज घिमिरेले पर्यटन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल कार्यसूचीबाट हटाएको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?