महांकाल भैरवको श्रीमद्भागवत सप्ताहमा भक्तजनको भिड बढ्दै

काठमाडौं । राजधानीको गोकर्णेश्वर नगरपालिका–८ अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महांकाल मन्दिर परिसरमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा भक्तजनहरुको भिड बढ्दै गएको छ । 

मौसममा आएको सुधारसँगै क्रमशः भक्तजनहरुको भिड बढ्दै गएको श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन मूल आयोजक समिति मातहतको अतिथि सत्कार उपसमितिका संयोजक राजेश दाहालले जानकारी दिए ।

दाहालका अनुसार वृद्धवृद्धा तथा अन्य इच्छुक सबैका लागि महायज्ञकै क्रममा समय समयमा सामान्य स्वास्थ्य जाँचको व्यवस्था पनि मिलाइएको छ । सबै भक्तजनहरुका लागि प्रसाद ग्रहण तथा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको समेत दाहाल बताए । महायज्ञका लागि प्राप्त आर्थिक सहयोग र खर्च विवरणलाई अत्यन्त पारदर्शी बनाइएको दाहालले बताए ।

गत शुक्रवार वैदिक मन्त्रोचारणबीच संस्कृतिविद् डाक्टर चिन्तामणि योगीले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुरेका थिए । गोकर्णेश्वर नगरपालिका–८ का अध्यक्ष मनोज ढुंगानाले महांकाल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेको खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षहरुको निर्माणार्थ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना  गरिएको जानकारी दिए ।

मुख्य मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पूजारीको व्यवस्था, मन्दिर प्रवेशद्वार निर्माण, भजनकीर्तन तथा प्रवचनकक्ष, यज्ञमण्डप आदिको पवित्र लक्ष्य सहित महायज्ञ आयोजना गरिएको हो । प्राचीन राजा मानदेवको कार्यकालमा उनकै निर्देशनमा राजधानीको पूर्वी क्षेत्रमा महांकाल सहित श्री गणेश, श्री चामुण्डादेवी र अर्घौतेश्वर महादेवको स्थापना गरिएको संस्कृतिविद् समेत रहेका वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे बेदमणिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?