रसुवा । कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौंको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ लाङ्वु गाउँका ८३ वर्षीय नोच्युङ घले र उत्तरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का ७७ वर्षीया कामीछोमु तामाङनीको मोतियाबिन्दुको शल्यक्रिया गरीएको छ । शल्यक्रियापछि दुवै ज्येष्ठ नागरिक अहिले हिँडडुल तथा सामान्य काम आफैँले गर्न सक्ने भएका छन् ।
तिलगङ्गा आँखा केन्द्रद्वारा सञ्चालन गरिएको तीन दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा कुल ७३ जनाको शल्यक्रिया तथा एक सय पचास जनाको आँखा परीक्षण गरिएको तिलगङ्गा आँखा केन्द्र रसुवाकी प्रमुख एवं नेत्र सहायक उर्मिला तामाङले जानकारी दिइन, । तिलगङ्गा आँखा केन्द्रकी नेत्रविषेशज्ञ डा इली प्रधान नेतृत्वको टोलीले शल्यक्रिया गरेका हुन् ।
कालिकास्थानमा मङ्गलबार सम्पन्न शिविरबाट रसुवाका पाँचवटै गाउँपालिकाका नागरिक लाभान्वित भएका नेपाल रेडक्रस रसुवा शाखाका सभापति बाबुलाल तामाङले बताए । रसुवा रेडक्रससँगको सहकार्यमा तिलगङ्गा आँखा केन्द्रले २०६३ सालदेखि यहाँका नागरिकको आँखाको उपचार गर्दै आएको छ । गत वर्ष पनि ५९ जनाको शल्यक्रिया गरिएको रेडक्रस जिल्ला सभापति तामाङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया