काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै सर्वसाधारणबाट करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका वडा नं २३ घर भइ हाल सितापाखा बस्ने ५० वर्षीय सानु भण्डारी, मोरङ घर भइ हाल ललितपुर धापाखेल बस्ने ४९ वर्षीय केशव प्रसाद दुलाल र पाँचथर फिदिम घर भइ हाल ललितपुर धापाखेल बस्ने ४५ वर्षीय टंक गुरुङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले आइतबार ललितपुर धापाखेलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
२०७७ साल देखि हाल सम्म ८१ नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै विभिन्न प्रलोभन र विश्वासमा पारी उनीहरुबाट करिब १३ करोड ६३ लाख ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।
राठोरका अनुसार उनीहरुले आफूले चिनजानका व्यक्तिहरुमार्फत सम्पर्क गराई अमेरिका पठाइदिने बहानामा प्रतिव्यक्ति १५ देखि २० लाख उठाएका थिए ।
पक्राउ परेका व्यक्तिहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरुसँग सेटिङ भैरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र, निर्णयहरु एवं पत्रपत्रिका र अनलाईनहरुमा आएका फोटो र न्यूजहरु तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीहरुको सरुवा सम्बन्धि समाचार समेत पीडितहरुलाई सेयर गरि शतप्रतिशत काम हुन्छ भन्दै अनेक बहाना बनाई लामो समयसम्म पीडितहरुलाई आश्चासन दिई राखेका थिए ।
पीडितहरुलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर,सौराहा, काठमाण्डौ लगायत स्थानमा पटकपटक बोलाई हैरानी दिएको अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै उनीहरुले काम नभएमा पैसा फिर्ता गरिदिन्छु भनि ठगी गर्ने व्यक्तिले ग्यारेन्टीको रुपमा रित नपुगेका र पर्याप्त रकम नभएका ८ करोड बराबरको चेकहरु जाहेरवालाहरुलाई समेत दिएका थिए
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धि कार्यदलका सदस्यहरुको समेत मिलेमतो रहेको आशंकामा उनीहरुमाथि अनुसन्त्राना भइरहेको छ ।
पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिताको दफा २४९(१) र (२) बमोजिमको कसुर अपराधमा आवाश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया