इपिलेप्सी फाउण्डेशन नेपालले सम्पन्न गर्यो छारेसम्बन्धि छलफल

लोकपथ
78
Shares

काठमाडौं । इपिलेप्सी फाउण्डेसन नेपालले छारेसम्बन्धि छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष मार्च २६ मा मनाइने विश्व छारे रोग सचेतना दिवसको अवसरमा फाउण्डेशनले आइतबार काठमाडौंको एक होटलमा छारेसम्बन्धि छलफल सम्पन्न गरेको हो ।

कार्यक्रमलाई महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टर र भारतस्थित बिएलके म्याक्स अस्पताल सहयोग गरेका थिए ।

उक्त छलफल तथा अन्तक्रिया कार्यक्रममा स्नायू रोग विशेषज्ञ चिकित्सकहरुले छारेसम्बन्धि प्रस्तूतिसमेत दिएका थिए । जसमा इपिलेप्सी फाउण्डेशन नेपालका अध्यक्ष तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. सुमन भट्टराईले नेपालमा छारेको स्थिति र अस्पताल आउने छारेका बिरामीको अवस्थाका बारेमा प्रस्तुति दिएका थिए । साथै, छारेको कारण र महाराजगञ्जस्थित नेशनल न्यूरो सेन्टरमा आउने बिरामीहरु कुन अवस्थामा आइपुग्छन् भन्ने बारेमा पनि बताएका थिए ।

त्यसैगरी, भारतको दिल्लीस्थित बिएलके–म्याक्सका वरिष्ठ न्यूरोसर्जन डा. रोहित बन्सिलले छारेमा शल्यक्रियाको भूमिकाका बारेमा प्रस्तूति दिएका थिए ।

त्यस्तै, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. आशिष दत्तले छारेका बारेमा नेपाली समाजमा भएका भ्रम र सत्यका बारेमा प्रस्तुति दिएका थिए ।

छलफलमा वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले पनि छारेका बारेमा संक्षेपमा प्रस्तुति दिएका थिए । उनले छारे के हो ? कसरी हुन्छ ? र, यसको इतिहासका बारेमा वर्णन गरेका थिए । साथै, छारेका बारेमा समाजमा रहेको अन्योलनका र छारे आएको बिरामीलाई कसरी प्राथमिक उपचार दिन सकिन्छ भन्नेबारे प्रष्ट पारेका थिए ।

छलफलमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी र अरुण चौधरी पनि उपस्थित थिए । छलफलमा बोल्ने क्रममा चौधरीले आफूलाई यसरी छारे रोगको सचेतनाका लागि पर्पल डे मनाइन्छ भन्ने थाहा नभएको बताइन् । अब भने यससम्बन्धि सचेतना फैलाउन र यसको उपचार पद्धत्तिलाई बिस्तारका लागि नीतिगत पहल गरिने बताइन् । ‘अब म छारे निवारणका लागि संसदमा बुलन्द आवाज उठाउनेछु,’ उनले भनिन्, ‘यस्ता खाले स्वास्थ्य समस्यालाई निर्मूल पार्नका लागि सरकारले बेलैमा गतिलो नीति अवलम्बन गर्नुपर्छ ।’

त्यस्तै, इपिलेप्सी फाउण्डेशनका अध्यक्ष भट्टराईले कार्यक्रममा सहभागिहरुलाई फाउण्डेशनको स्थापना कसरी भयो ? यसको उद्धेश्य, हालसम्म गरेका काम र आगामी दिनमा गर्ने कार्ययोजनाबारे प्रष्ट पारेका थिए ।

नेशनल न्यूरो सेन्टरको वरिष्ठ न्यूरोलोजिष्ट अभिषेकमान श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमको अन्तिममा वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलले कार्यक्रममा उपस्थितलाई धन्यवाद दिएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका झण्डै २०० जनाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?