काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका अध्यक्ष माधव नेपाललाई संस्थागत रुपमा कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको प्रष्ट पारेको छ । बुधबार बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले कसैले पनि प्रस्ताव नगरेकाले ‘च्याप्टर नै क्लोज’ भएको प्रतिक्रिया दिए ।
पत्रकारहरुसँग उनले भने, ‘हामीलाई कसैले राष्ट्रपतिको कुनै प्रस्ताव ल्याएको छैन । त्यो च्याप्टर क्लोज भइसकेको छ । भोलिका दिनमा आए त्यसबारेमा अन्य दलसँग छलफल गर्ने नीति लिएको छ ।’
राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति बनोस् भन्ने पक्षमा पार्टी रहेको भन्दै उनले भने, ‘उम्मेदवारहरु राजनीतिक दलबाटै हुनेछन् । हामी पनि एउटा पक्ष हौं । कोहीसँग बहुमत छैन । भएको भए अहिलेको छलफल नै हुँदैनथ्यो । अरु कोही उम्मेदवार भयो भने हाम्रो भोटले जित्दैछ । हाम्रो भयो भने पनि अरुको भोटले जित्ने हो । हाम्रो पार्टी पनि त्यही लाइनमा छ ।’
नेता झलनाथ खनालले पनि राष्ट्रपतिबारे अहिलेसम्म पार्टीलाई कसैले पनि प्रस्ताव नगरेको प्रक्रिया दिए । बैठकमा अध्यक्ष नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे जानकारी गराए पनि राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे केही नभनेकाले यो हल्ला मात्र भएको खनालको भनाइ थियो ।
खनालले एमालेसँग अहिले पार्टी एकता नहुने संकेत गर्दै भने, ‘एमालेसँग कुरा मिल्न कठिन छ । मिल्दै मिल्दैन कसरी भन्ने, मिल्ने आधार पनि तय भएको छैन ।’ सचिवालय बैठकले २ वटा निर्णय गरेको जानकारी प्रवक्ता खतिवडाले पहिलो, अग्रगमन शक्तिहरूसँग छलफल गर्ने र दोस्रो, राष्ट्रपति निर्वाचनबारे दलहरूसँग परामर्श गर्ने रहेको पनि बताए ।
नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष नेपालबीच हालै भएको भेटवार्तामा ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिमा प्रस्ताव गरेको विषय सार्वजनिक भएपछि राजनीतिक बजार गर्माएको थियो ।
राष्ट्रपतिमा नेपाली कांग्रेस र नेकपा एमालेले दाबी गरिरहेका छन् । जसमा सरकारको नेतृत्व गरिरहेको माओवादी निर्णायक देखिएकाले नयाँ नयाँ नाममा चर्चा चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया