काठमाडौं । नेकपा माओवादी केन्द्र का उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती प्रदेश नं १ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रहित र जनताको सेवाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिइन् ।
उपाध्यक्ष भुसालले विगतको सरकारले सङ्घीय निजामती ऐन सङ्घीयताको मर्म विपरीत ल्याउन लागेको बताउँदै संसद्द्वारा राज्य व्यवस्था समितिमा पठाइएको मस्यौदामाथि व्यापक छलफल भई मतदानद्वारा पास भएकामा ऐन आउन नसकेकामा दुःख व्यक्त गरिन् । उनले भनिन्, “अहिले सङ्घीय निजामती सेवा ऐन आउनुपर्छ र त्यसमा कर्मचारीहरूको हकहित एवं सामूहिक सौदाबाजी गर्ने ट्रेड युनियनका अधिकार समावेश हुनुपर्छ ।”
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले ल्याउन लागेको सङ्घीय निजामती सेवा ऐन स्वीकार गर्न आग्रह गर्दै यसबाट कर्मचारीतन्त्रमा देखिएका समस्या आधा समाधान हुने विश्वास व्यक्त गरे । उनले सबै कुरा ऐनमा एकै पटक नआए पनि यसलाई क्रमशः सुधार गर्दै लैजान सकिने बताए ।
मन्त्री मोदीले कर्मचारीभित्र देखिएका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै सम्पूर्ण निजामती कर्मचारीको अभिभावक भएको आधारमा न्यायपूर्ण ढङ्गले कर्मचारीहरूको क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजामती सेवाका २५ जना अधिकृत तहबाट बढुवा भएका उपसचिवलाई स्थानीय तहमा सरुवा गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया