राष्ट्रिय सहमतिकाे विकल्प छैन, गठबन्धन कसैले चाहँदैमा भत्किँदैन : नारायणकाजी श्रेष्ठ

लोकपथ
35
Shares

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सत्तारुढ गठबन्धन नभत्किने प्रष्टीकरण दिएका छन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका श्रेष्ठले अहिलेको समीकरणलाई बदल्नु माओवादीको प्राथमिकता नभएको उल्लेख गरे ।

सुदूरपश्चिम जानेक्रममा बिहीबार बिहान सुर्खेत पुगेका उनले विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रतिगमनलाई कुनैपनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामसहित चारवटा प्रमुख राष्ट्रिय कार्यभार विषयमा सरकार प्रष्ट रहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले भने ‘हामी अहिले चारवटा राष्ट्रिय कार्यभारलाई केन्द्रित गरेर सरकार अघि बढ्दैछ । प्रमुख राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढिकरण, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई संस्थागत, नयाँ संविधानको रक्षा, संस्थागत सुदृढिकरण र थप विकास हाम्रो कार्यभार हो ।

त्यसैगरी राजनीतिक उपलब्धिलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक सम्वृद्धि र शान्ति प्रक्रियाको बाँकी कार्यभारहरु बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलापका काम पूरा गरेर संक्रमणकालीन न्याय सम्बन्धी सम्पन्न गर्नु हो ।’ उनले सो अवसरमा अहिलेको गठबन्धन नभत्किनेसमेत दाबी गरे ।

उनले माओवादी नेतृत्वमा हुँदा अहिलेका राजनीतिक उपलब्धिलाई साधन बनाएर सामाजिक, आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने आगामी कार्यभार रहेको उनले बताए । मन्त्री श्रेष्ठले भने, ‘यो पूरा गर्नेगरि विश्वासको वातावरण बन्यो भने बाहिरबाट कसैले चाहेर पनि गठबन्धन भत्किँदैन । यदि त्यस्तो खालको परिस्थिति नबनेको खण्डमा माओवादीले चाहँदै वा नचाहँदैमा केही पनि गर्न सकिन्न ।’

सबै दलहरूलाई समेट्ने गरी पार्टी अघि बढ्न चाहेको भएपनि गठबन्धन बदल्ने कुरा नरहेको श्रेष्ठको भनाइ थियो । उनले भने, ‘वर्तमान समीकरणलाई बदल्ने प्राथमिकता हाम्रो छैन । सबै दलहरूलाई समेट्ने गरी अघि बढ्न चाहेका छौं । तर, समीकरण बदल्ने कुरा छैन । राष्ट्रपतिको चुनावको विषयमा हाम्रो एउटै भनाई छ, त्यो भनेको प्रधानमन्त्री प्रचण्डलाई सबै पार्टीहरूबाट समर्थन प्राप्त भयो, त्यसका लागि हाम्रा ऐतिहासिक परिघटना हो ।

अहिलेको मुलुकाको आवश्यकता राष्ट्रिय सहमतिको स्थितिको सृजना भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ ।’ श्रेष्ठले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति आवश्यकतामा आफूहरूले जोड दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?