काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी ओली सुपर प्रधानमन्त्री हुन खोजेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधि सभामा उनले प्रतिनिधि सभा अझै सुरक्षित भएको महशुस गर्न नसकेको भन्दै अहंकारले देश नबन्ने बताए ।
पौडेलले भने, ‘प्रधानमन्त्री भन्दापनि माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ति प्रस्तुत गरिएको थियो । आज किन सुस्त छ । किन बालुवाटार र बालकोट दौड व्यापक बढेको छ ? हामीलाई थाहा छ उहाँलाई राष्ट्रपति चाहिएको होइन । यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ ।’
ओलीलाई आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको आरोप लगाउँदै पौडेलले भने, ‘संसद विघटनको भोक अझै नमेटिएको पाइएकाले यो संसद असुरक्षित छ भनेर अनुमान लगाउन सकिन्छ । हामी गम्भीर भएर जनताको पक्षमा उभिन्छौं । कांग्रेसले ढोक्सा थापेको होइन । संसदको स्थायित्वको लागि सुरक्षित गर्न उभिएको हो ।’
बैठकमा पौडेलले एकपछि अर्को प्रश्न गर्दै भने, ‘जसपा र नागरिक उन्मुक्ति सरकारमा किन गएन ? कांग्रेसले ढोक्सा थापेर ? राप्रपाका मन्त्रीहरुलाई प्रधानमन्त्रीले संसदबाटै किन चेतावनी दिनुपर्यो ? कांग्रेसले षड्यन्त्र गरेर ? रास्वपा किन सरकारबाट बाहिरियो ? कांग्रेसले बाला देखाएर फकाएर ?’
उनले भने, ‘यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता पर्यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।’
कांग्रेस अस्थिरताको पक्षमा नरहेको, गठबन्धन भत्काउन प्रयास नगरेका प्रष्टीकरण दिँदै उनले भने, ‘सुदूरपश्चिममा गठबन्धन भत्कियो, कांग्रेसको कारण गठबन्धन भत्किएको हो कि ? अहिलेको गठबन्धन जगैदेखि हल्लिएर भत्किएको हो । हामी प्रश्न गर्न चाहन्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया