काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बिहीबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेकाे थियाे । मुख्यमन्त्री रावलले राखेको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्दा हुन्छ भन्ने सदस्य सङ्ख्याभन्दा हुन्न भन्ने सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।
त्यसपछि आजै संविधानको धारा १६८ को उपधारा ३ प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका हुन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, एमालेका १०, नाउपाका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया