प्रधानमन्त्रीलाई रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीहरुले राजजीनामा बुझाउने तयारी गरेका छन् । आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।

गत पुस १० गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएसँगै उपप्रधान एवं गृहमन्त्रीसहित रास्वपा सरकारमा सामेल भएको थियो । सरकारमा सहभागि भएको दुई महिना नबित्दै सरकारबाट बाहिरिएको हो । सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको छ ।

यद्यपि, सरकारलाई दिएको समर्थन भने यथावत राख्ने बैठकले निर्णय गरेको छ । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्की रहेका छन् । प्रतिनिधि सभामा रास्वपाका १९ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?