काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनमा दोस्रो भोट ल्याएका व्यक्तिलाई स्वतः निर्वाचित घोषणा गर्न नमिल्ने जवाफ दिएको छ ।
उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नागरिकता प्रकरणमा दोषी देखिएपछि दोस्रो मत ल्याएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निवेदन दिएकामा आयोगले उक्त जवाफ दिएको हो ।
गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट श्रेष्ठ रास्वपाका सभापति लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । श्रेष्ठले आइतबार आयोगसमक्ष निवेदन दिएका हुन् । श्रेष्ठले आफ्नो माग दाबीबारे आजै पत्रकार सम्मेलन गरेर जानकारी पनि गराउँदै छन् ।
पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पूर्ति गर्नुपर्ने कानूनी व्यवस्था भएको जनाउँदै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ‘उपनिर्वाचनबाहेकको पदपूर्तिबारे कानूनले परिकल्पना नगरेको,’प्रष्ट्याए ।
उनले पत्रकारहरुलाई भने, ‘निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र उपर दाबी–विरोध गर्ने, मनोनयन पत्र जाँचबुझ गर्ने चरण एउटा हुन्छ, त्यो चरण पार गरिसकेपछि निर्वाचनको परिणाम नआउन्जेलसम्मको चरण अर्को हुन्छ, निर्वाचनको परिणाम आइसकेपछि योग्यताका सम्बन्धमा प्रश्न उठ्ने त्यसको निरुपण गर्ने भनेको संवैधानिक इजलासले गरेको हुन्छ ।’
अर्यालले थपे, ‘चितवन निर्वाचन क्षेत्र नम्बर २ को कुरा संवैधानिक इजलाशमा प्रश्न उठेर योग्यताको प्रश्न छ, यसले उक्त निर्वाचन क्षेत्रको पद रिक्त भएको अवस्थामा निर्वाचन आयोगले गर्ने भनेको उपनिर्वाचनबाट पदपूर्ति हो । ६ महिनाभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने भन्नेछ । यस बाहेक कानूनमा स्पष्ट रुपमा अरु कुरा लेखिएको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया