वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्छु : मन्त्री अर्याल

लोकपथ
63
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानूनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन् ।

आईतवार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनैपनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताएका हुन् ।

उनले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरुलाई सुध्रनको लागि समय दिएको पनि बताए। उनले सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानूनी कारबाही गर्ने बताए । उनले मन्त्रालय ठगी गर्ने म्यानपावरहरुलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताए।

मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगतरुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताए। उनले मुलुकमा पछिल्लो वैदेशिक रोजगारका समय बढ्दै गएको बताए । उनले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानको लागि मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गरे ।

उनले भने,‘म्यानपावरहरु र व्यवसायीहरुलाई सुध्रिनको लागि समय दिन्छौं । दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ । कारबाही श्रम, रोजगारी ऐनमा जे व्यवस्था गरेको छ त्यो कारबाही गर्छौं । वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकहरुलाई ठगी गर्ने म्यानपावर र व्यवसायीहरुलाई कारबाही गर्न सकैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन । म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन । भयो भने प्रमाण समेत ल्याएर आउँदा हुन्छ । म्यानपावरले ठगी गरेको सुनेको छु तरपनि कानूनले सिधा गएर आक्रमण गर्न दिँदैन । कानूनी रुपमा कारबाही गर्ने हो । त्यसमा मैले काम गरिरहेको छु । यो देशमा समस्या नै समस्या छ । मन्त्रालयले एउटा विज्ञप्ति जारी भएको छ । विज्ञप्ति पछाडिको भाव सबै मेनपावर व्यवसायीहरुले बुझि दिनुहोला । यसको भाव बुझेमा ठगीहरु कम हुँदै जान्छ । म कुनै राजनीतिक दलको मन्त्री भएर आएको होइन । म ३ करोड नेपालीहरुको मन्त्री भएर आएको हो । म मन्त्री प्रक्रियाबाट आएको हो । मन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री भएर काम गर्दिन ।’

मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर ३ करोड नेपाली जनताको मन्त्रीको रुपमा मन्त्रालयमा काम गर्न आएको बताए । उनले मन्त्रालयमा सम्पूर्ण मापदण्ड पूरा गरेर मन्त्रालयमा मन्त्री भएर आएको भन्दै श्रममन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर जनताको काम गर्ने प्रतिवद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?