काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिन सक्ने खतरा पैदा भएको बताएका छन् ।
शनिबारबाट शुरु भएको पार्टीको पाँचौ विस्तारित केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा अध्यक्ष नेपालले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा रहेको उल्लेख गर्दै निर्वाचनपछि मुलुकमा स्थिरता कायम हुनेछ भन्ने अपेक्षा गरिएपनि त्यस विपरीत मुलुक अस्थिरतातर्फ धकेलिन सक्ने खतरा पैदा भएको उल्लेख गरेका छन् ।
निर्वाचनले संविधानको कार्यान्वयन र लोकतन्त्रको अभ्यासमा केही सकारात्मक योगदान त भएपनि अहिले त्रिशंकु प्रतिनिधिसभा बनेको र यसले मुलुक अस्थिरतातर्फ धकेलिन सक्ने खतरा उत्पन्न भएको अध्यक्ष नेपालले औंल्याएका छन् ।
प्रतिवेदनमा उनले भनेका छन्– ‘अहिलेको प्रतिनिधिसभा त्रिशंकु मात्र होइन खिचडी प्रकृतिको समेत छ । त्यहाँ गणतन्त्रवादी र गणतन्त्र विरोधी, संघीयतावादी र संघीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्म सापेक्षतावादी, परिवर्तनकारी र पुनरुत्थानवादी, यथास्थितिवादी र अग्रगामी आदि चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् ।’
उनले यी शक्तिहरू बीचको द्वन्द्वले गर्दा मुलुकमा अस्थिरता तथा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा निम्तिन सक्ने र भूराजनीतिक जटिलता थपिँदै जाने र राष्ट्रियतामाथि दखल पुग्नसक्ने खतरा रहेको औल्याएका छन् ।
नेपालले कांग्रेस नेतृत्वको गठबन्धन भत्कनुका कारणहरु पार्टी समक्ष जानकारी गराएका छन् । अध्यक्ष नेपालले अप्रत्यासित रूपमा गठबन्धन भत्कनुका चार कारणहरु प्रस्तुत गरेका छन् ।
निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नु, नेपाली कांग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु, केपी ओलीले उपर्युक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु, माओवादी केन्द्रको सत्ता केन्द्रित सोच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिड्ने प्रवृत्ति हुनु भएको उल्लेख गरेका छन् ।
हेर्नुहोस् पूर्णपाठ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया