प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

लोकपथ
105
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । गृहमन्त्रीको विषयमा सत्ता गठबन्धनमा लफडा बढिरहेको बेला अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

सत्तारुढ प्रमुख दलका दुई शीर्ष नेताहरुबीच भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई गृह मन्त्रालय दिने/नदिनेबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दिएको २ दिनको समय आज सकिनै लाग्दा प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।

एमाले अध्यक्ष ओली भने रविलाई नै सो पदमा फर्काउने पक्षमा छन् । यसअघि शुक्रबार एमाले अध्यक्ष ओलीसँग रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका थिए । नागरिकता विवाद प्रकरणका कारण गृहमन्त्री पद छाड्न बाध्य राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता सक्रिय गराएपछि पुनः गृहमै फर्किने इच्छा गरेका छन् ।

तर, उनीविरुद्ध राहदानी विवाद कायमै रहेको तथा नागरिकताका विषयमा सर्वाेच्च अदालतबाट फैसलाको पूर्णपाठ आइनसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड गृहबारे निर्णय गरिहाल्ने पक्षमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?