बन्द प्रशिक्षणमा सन्दीपलाई सामेल गरेपछि क्यानका अध्यक्षलाई महामन्त्री शर्माको फोन

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दा विचाराधीन अवस्थामा बन्द प्रशिक्षण सामेल गरेको विषयमा आपत्ति जनाएका छन् ।

शुक्रबार महामन्त्री शर्माले क्यानका अध्यक्ष चतुर बहादुर चन्दलाई फोन सम्पर्क गरि अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा अदालतको निर्णय किन नकुरेको भन्दै आपत्ति जनाएका हुन् ।

महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेख्दै सो विषयमा जानकारी गराएका हुन् ।

‘क्यान अध्यक्षलाई फोनमा सोधेँ–खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैन?,’ शर्माले लेखेका छन्, ‘खेलकुदमन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँछु–कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ, हतारको गल्ती सच्याऊँ भन्नुस्। मौनता जिम्मेवार जवाफ हुन्न।’

बलात्कार आरोपपछि धरौटीमा रिहा भएका सन्दीपलाई अदालतको पूर्ण निर्णय नआइसकेको अवस्थामा आजबाट प्रशिक्षणमा सामेल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?