नेपाल चिकित्सक संघ : उपत्यकामा मतदान जारी

लोकपथ
14
Shares

काठमाडौं । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि उपत्यकामा निर्वाचन शुरु भएको छ । आज बिहानदेखि नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा मतदान शुरु भएको प्रमुख निर्वाचन अधिकृत डा.धनबहादुर रानामगरले जानकारी दिए ।

यसअघि यही माघ ६ गते र ७ गते उपत्यका बाहिरका १६ शाखा कार्यालयमा निर्वाचन सम्पन्न भइसकेको छ । उपत्यका बाहिर तीन हजार छ सय ५० मत खसेको उनले बताए । उनका अनुसार आजदेखि उपत्यकामा तीन दिन माघ १९, २० र २१ निर्वाचन हुनेछ । तीन दिन उपत्यकामा ८ हजार ९ सय मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

निर्वाचन साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक/एक जनाको दरले सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक जना र छ जना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदैछ । त्यसै संघ परिषद् सदस्य ६० जनाकोसमेत निर्वाचन हुँदैछ ।

अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा डा.अनिल विक्रम कार्कीको लोकतान्त्रिक, डा.सन्तोष पौडेलको प्रगतिशील र डा.शिवजी विक्रम सिलवालको स्वतन्त्र प्यानल बनाई चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा कूल १२ हजार आठ सय ३४ जना रहेका छन् । यही माघ २१ गते मतदान सकिएपछि मतगणना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?