काठमाडौं । पूर्व कानूनमन्त्री माधव पौडेलले प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रस्ताव राखेका छन् । बुधबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताएका हुन् ।
उनले प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष राख्न उपयुक्त हुने बताए । उनले नेपालमा पुरातनवादी परम्परालाई पछ्याएका कारण प्रतिनिधि सभा सदस्य बन्न पाउने उमेर २५ वर्षमै यथावत रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताए । उनले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने मान्यतालाई हटाएर नयाँ समयअनुसार परिवर्तन हुन सक्नुपर्ने बताए ।
उनले भने, ‘अब हजुरहरुले संविधानमा पनि सुधार गर्न जरुरी छ । उमेर घटाउनु पर्छ । २५ वर्ष जुन प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नका लागि तोकिएको छ, यो १८ औँ शताब्दीको कुरा हो, संसार कहाँ पुगिसक्यो, अमेरिका फ्रान्समा १९,२० वर्षका मानिसहरु मेयर भइरहेका छन्, हाम्रो नेपालमा २५ वर्ष पुग्नैपर्ने के छ ? युवाहरुलाई आकर्षित गर्नपनि २५बाट घटाएर १८ वा २० वर्षमा ल्याउनुपर्छ ।’
पूर्वमन्त्री पौडेलले प्रतिनिधि सभा सदस्यको निर्वाचन नै ऐनमा तोकेर राख्न आवश्यक रहेको बताए । उनले विद्युतीय निर्वाचनलाई शुरुवात गर्नुपर्ने र निर्वाचन खर्चलाई कम गराउन आवश्यक रहेको बताए । उनले अहिले राजनीतिक दलबाट प्रयोग भइरहेको समानुपातिक निर्वाचन प्रणाली विकृत रुपमा प्रयोग गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया