स्वास्थ्यमा कुनै कम्प्रमाइज नगर्नुस् : राज्यमन्त्री कार्की

लोकपथ
28
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन् ।

मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो बताएकी हुन् । उनले फार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताइन् ।

उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुशी प्रयोग हुने र औषधिहरु पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन् । उनले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्प्रमाइज गर्नु नहुने बताइन् ।

उनले देश भित्रै औषधिहरुको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यस सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन आग्रह गरिन् । राज्यमन्त्री कार्कीले भनिन्, ‘कुनैपनि प्रोडक्टहरु बनिन्छि, तर बजारमा पुग्दैगर्दा फार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, अनुमति लिनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था हामीले बनाउनु पर्छ ।

बजारमा अहिले धेरै विज्ञापनहरु सुनिन्छ, प्रयोगमा पनि आएका छन्, विभिन्न थरिका मालिस गर्ने तेलहरु, दाँत सेतो पार्ने औषधिहरु, कपाल उमार्ने तेलहरु र आयुर्वेदिक औषधिहरुको गुणस्तर मापन कसले गरिरहेको छ, डाटासहित आउनुहोला । हामी कुनै न कुनै ठाउँमा चुकिरहेका छौँ, त्यसको नियमन गर्न अत्यन्त जरुरी छ ।’

राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्ने कुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?