काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलवार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभुति प्रकट गरेका छन् ।
मंगलवार संसद भवन नयाँ बानेश्वरमा आत्मदाह गरेका उनका परिवारलाई भेट्न बुधवार कीर्तिपुर अस्पताल पुगेका उनले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरुबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको बताए । उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरुमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशलाई केही गरौँ भन्ने मनशायबाट आएको बताए ।
उनले मृतक आचार्यले उठाउनुभएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिवद्धता जनाए । उनले आफूबाट भएका कमी कमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने बताए ।
उनले भने, ‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरुबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ, नयाँ छु, समय लाग्नसक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन ।’
मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरे । उनले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताए ।
उनले भने, ‘उहाँले देशका लागि केही गरौँ भनेर गरौँ भन्नुभयो, तर अब बच्चाहरुको भविष्य के हुने हो रु मैले कसरी गर्ने, मेरो छोरीहरुको भविष्य, पढाइ सुनिश्चित गरियोस्, मैले सक्ने रोजगारी पनि दिनु, म यो आर्थिक उहाँले तिर्ने कतितिर छ यो सक्दिन राज्यले यसमा सहयोग गरोस् । यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, एउटाले कृषिमा १५ पटक अनुदान पाउँदा हामीले भर्न नै कति लाख खर्च भएन ।’
उनले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौं खर्च गर्नुपरेको बताए । गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षिय आचार्यको बुधवार बिहान उपचारका क्रममा निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया