दम्पत्तिनै दुर्घटनामा : हेमजा शोकमा

लोकपथ
168
Shares

कास्की । पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन ।

अमेरिकाबाट शनिबार काठमाडौं झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौं पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै दुर्घटनामा परे ।

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बनेकी छन् । उनका छरछिमेक सबैका आँखा रसाएका छन् ।

डिभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गतवर्ष बिहे गर्नका लागि पोखरा आएका थिए । गतवर्ष माघको १९ गते विवाह गरेका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आएका हुन् । उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव (ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आएका हुुन् ।

‘दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ’, उनले भने । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि उक्त विमानमासँगै दुर्घटनामा परेका हुन् ।

घरायसी कामकाजको सिलसिलामा काठमाडौं गएका कुँवर दम्पत्तिले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घटनामा हेमाजाकै चार/चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?