फेरि चर्चामा केरुङ–काठमाडौं रेलमार्ग, चिनियाँ अध्ययन टोलीले काम थाल्दै

काठमाडौं । पछिल्ला केही वर्ष नेपालमा रेलको विषयमा निकै चर्चा चल्दै आएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले पानी जहाज र रेलको विषयलाई झन् चर्काएका थिए । ओलीले जनतालाई सपना त बाँडे तर उनी आफ्नै बोलीमा प्रतिबद्ध भएर लाग्न भने सकेनन् । ओलीका कुरा सुन्दा महिना होईन केही दिन भित्र काठमाडौंमा चिनियाँ रेल आउँछ जस्तो आशा नेपाली जनताले गरेका थिए । तर, काठमाडौंलाई चीनको केरुङसँग रेल जोड्ने चर्चा भएको सात वर्षसम्म पनि उक्त रेल मार्ग बन्छ भन्ने आधार अहिलेसम्म तयार भएको छैन ।

एक वर्ष अघि नै सक्ने भनेको उक्त आयोजनाको सम्भाव्यता अध्ययन अझै पनि भएको छैन । निकै महत्वका साथ हेरिएको नेपाल चीन अन्तरदेशीय काठमाडौं पूर्व सम्म्भाव्यता अध्ययन २०७५ मंसिरमा भएको थियो । २०७६ असोजमा चीनका राष्ट्रपति सि जिनपिङको नेपाल भम्रण गर्ने क्रममा विस्तृत सम्भाव्यता अध्ययन शुरु गर्नेबारे सहमति भएको थियो । उक्त सहमतिमा तत्काल अध्ययन गर्नेबारे दुबै देशका उच्च अधिकारीहरु तयार भएका थिए । रेलमार्गको अध्ययनका लागि प्राविधिक सहायता गराउने विषयमा चिनियाँ विदेशमन्त्री वाङ यीको गत मार्चमा सम्पन्न नेपाल भ्रमणका बेलामा सम्झौतामा हस्ताक्षर भएको थियो ।

साथै, निवर्तमान परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणका क्रममा पनि चिनियाँ विदेशमन्त्री यीले चिनियाँ विज्ञ टोली पठाउने प्रतिवद्धता जनाएका थिए । प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार विस्तृत अध्ययनको काम यतिबेला सकिनुपर्ने हो । तर चीनले महामारीको कारण देखाउँदै नेपालसँग भएको सम्झौता अनुसार अध्ययन हुन नसकेकाले काम शुरु भएको ४२ महिना समय लाग्ने जानकारीे भौतिक पूर्वाधार मन्त्रालयस्तरको सचिवस्तरीय भर्चुअल वार्तामा गराएको थियो । महामारीपछि अवस्था सहज नभएको र जटिल भूगोलमा अध्ययन गर्नपर्ने भएकाले पूर्वनिर्धारित तालिकाअनुसार अध्ययन पूरा गर्न थप समय लाग्ने चीनको तर्क थियो ।

तर, महामारीपछि पनि चीनले अध्ययनमा खासै जाँगर देखाएको थिएन । तर, निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसँगै रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका ६ जना प्राविधिक मंगलबार काठमाडौं आएका हुन् । जसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएका र अब हुने विस्तृत सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालका प्रवक्ता शिवप्रसाद नेपालले लोकपथलाई बताए ।

उनले भने, ‘पहिलेको पूर्व सम्भाव्यता अध्ययन भएकोले देखिने गरी नतिजा आएको थिएन र यो अध्ययनबाट उल्लेखनीय जानकारी आउँछन् । स्थलगत रुपमा अध्ययन गर्ने भएकोले रेलमार्गको वास्तविक दूरी, सुरुङमार्गको खोल्नु पर्ने स्थान र त्यसको दुरी, पुल निर्माण गर्नुपर्ने स्थान, मानव बस्ती, स्टेशनको सङख्या सबै कुराको जानकारी आउँछ ।’ उनले थपे, ‘अध्ययनका लागि अझै विभिन्न किसिमका प्राविधिक टोली ल्याउनुपर्छ जसका लागि समय लाग्न सक्छ । तर तोकिएको समयमा नै कार्य गर्ने गरी समन्वय गरेका छौं । जसले गर्दा समयमा नै अध्ययन सकिनेमा हामी आशावादी छौं ।’

यता रेल विभागले पनि चिनियाँ टोली नेपाल आएसँगै आफ्नो तयारी थालेको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार रेलमार्ग ७२.२५ किलोमिटर लामो बन्ने छ । उनले लोकपथसँग भने, ‘रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीन सरकारले नै गर्ने छ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ अनुमान छ । उक्त प्रतिवेदन अनुसार यो रेलमार्ग निर्माण नौं वर्षमा सकिने उल्लेख गरिएको छ । जसलाई समयमा नै पूर्ण गर्न हामी प्रतिबद्ध छौं ।’ अप्ठेरो भूगोलमा सुरुङमार्ग र पुल राखेर बन्ने आयोजना भएकाले अध्ययनमा धेरै समय लाग्नु स्वाभाविक भएको रेल विभागका प्रवक्ता चित्रकार बताउँछन् । उनका अनुसार चिनियाँ प्रविधिक टोलीले विभागसँग समन्वय गरेर मात्र अध्ययनको काम अघि बढाउने छ । प्राविधिक टोलीसँग बुधवार छलफल भएको छ । छलफलमा कहाँबाट अध्ययन शुरु गर्ने, कसरी गर्ने भन्ने विषयमा छलफल भएको उनले बताए । साथै उनले भने, ‘टोलीले आफ्नै खर्चमा अध्ययन गर्छ, सुरक्षा र सहजीकरणको काम हामीले गर्छौं, अब परियोजनाको काम छिटो अघि बढ्ने बाटो खुलेको छ ।’

राजनीतिक नेतृत्वको कमजोर ईच्छा शक्ति, भौगलिक विकटता र त्यसलाई छिचल्लन चाहिने ठूलो धनराशिका कारण केरुङ–काठमाडौं रेलमार्ग निर्माण आफैंमा कठिन छ । प्रतिवेदनले पनि कठिन भू–बनोटमा चिनियाँ रेल ल्याउनु आफैमा चुनौतीपूर्ण रहेको औल्याएको छ । यो रेलमार्ग आर्थिक एवम् व्यवहारिक दृष्टिकोणले नेपालले सोचे जस्तो फाईदाजनक हुन नसक्ने अनुमान गरिएको छ । उक्त रेलमार्ग चल्दा नेपाल र चीनबीचमा व्यापार, आयात र निर्यातमा सहज हुनेमा व्यावसायीहरु बढी उत्साहित छन् । रेल बनाएर पनि नेपाल चीनको एकतर्फी उपभोक्ता मात्रै बन्यो भने त्यसले हामीलाई फाइदा नगर्ने विज्ञहरुले बताइरहँदा सरकारले यसको बहुआयामलाई पनि केलाउन सक्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?