काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् । प्रधानमन्त्री प्रचण्डसँगै तीन जना उपप्रधानमन्त्रीहरुले पनि शपथ लिएका छन् ।

यसअघि हिजो प्रचण्डलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्ड अहिले तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । एक दशक लामो सशस्त्र हिंसात्मक आन्दोलन गरेर शान्ति प्रक्रियामा आएका प्रचण्ड २०६४ र २०७३ मा ९–९ महिना प्रधानमन्त्री बनेका थिए ।
२०७४ को निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने समझदारी कार्यान्वयन नगरेपछि एमाले अध्यक्ष ओलीसँग पार्टी नै विभाजन गरेर निस्किँदै कांग्रेस गठबन्धनमा पुगेका प्रचण्ड, यस पटक ओलीलाई नै आलोपालो प्रधानमन्त्री बनाउने गरी एमालेको गठबन्धनमा पुगेका हुन् ।
कांग्रेस नेतृत्वको गठबन्धनमा रहेर स्थानीयदेखि प्रदेश र संघीय संसदको निर्वाचनमा होमिएका प्रचण्ड नयाँ बन्ने सरकारमा कांग्रेसले प्रधानमन्त्री नदिने भएपछि आइतवार एकाएक गठबन्धन तोड्ने निर्णयमा पुगेका थिए।
कांग्रेससँगको गठबन्धन तोडेर एमाले अध्यक्ष केपी ओलीसमक्ष पुगेका उनलाई एमालेसहितका सात दलले प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।
उनलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । अरु तीन स्वतन्त्र सांसदको समर्थन पनि उनलाई मिलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया