काठमाडौं । दलहरुलाई सरकार बनाउन राष्ट्रपतिले दिएको समय सीमा साघुँरिदै जान थालेपछि नेताहरुको दौडधूप पनि बाक्लिन थालेको छ ।
यसैक्रममा सत्ता गठबन्धनमा रहेका दलहरुले छलफललाई घनिभूत बनाइरहेका छन् । सत्ता गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को प्रधानमन्त्री बन्ने भन्ने टुंगिन नसक्दा सकस बढेको छ ।
यो विषय मिलाउन शीर्ष नेताहरु दैनिकजसो छलफलमा जुटेका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको हो । हिजो पनि देउवा, दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताबीच छलफल भएको थियो ।
गठबन्धनको सरकार बनाएर शक्ति बाँडफाँड गर्नेमा नेताहरुबीच सहमति भए पनि को पहिले प्रधानमन्त्री भन्नेमा सहमति बन्न नसकेको हो ।
यसैबीच, शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच पनि भेटवार्ता भएको छ । बालुवाटारमा उनीहरूबीच सत्ता समीकरणबारे छलफल भएको हो ।
संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको लोसपाका एक नेताले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया