यसरी निर्माण हुँदैछ काठमाडौंको ऐतिहासिक धरहरा [फोटो फिचर]

काठमाडौं । वि.सं. ०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको धरहराको पुनर्निर्माणमा तीन वर्षदेखि अन्योलमा थियो  । केही दिनयता नयाँ डिजाइनका साथ धरहराको निर्माण धमाधम भइरहेको छ । नयाँ संरचनाअनुसार धरहरालाई कम्पनी रमन जेभीले निर्माण गरिरहेको छ ।

यतिबेला धरहराका लागि खाल्डो खन्ने काम भइरहेको छ । धरहरा पूर्ण तयार हुन अझै दुई वर्ष लाग्नेछ ।

पहिले बनाएको धरहरालाई सिसाको फ्रेममा राखिनेछ भने छेउमा अर्को धरहरा निर्माण गरिनेछ । धरहरालाई अब भने आधुनिक शैलीको बनाइनेछ । धरहरासँगै उक्त क्षेत्रभित्र बगैँचा, अन्डरग्राउन्ड पार्किङ, तस्वीर खिच्ने स्थान हुनेछ ।

अब बन्ने धरहरा २२ तलाको हुनेछ भने धरहराको गजुर ६९ दशमलब २ मिटरको हुनेछ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार अहिले गोश्वारा हुलाक रहेको स्थानमा पार्किङ रहनेछ ।

नयाँ बन्ने धरहरामा लिफ्टको व्यवस्था हुनेछ । साथै धरहराको दशौँ तलामा थिएटर हलसमेत हुनेछ । यस्तै बगैँचामा पानीको फोहरा पनि राखिने प्राधिकरणले जनाएको छ ।


धरहरासँगै हाल रहेको गोश्वारा हुलाक कार्यालय भएको स्थानमा ३ तले सवारी पार्किङ स्थल बनाइनेछ । धरहराको क्षेत्र बढाउन गोश्वारा हुलाक कार्यालय, टक्सार भवन पनि भत्काइँदै छ । 

अब बन्ने धरहरा २२ तालाको हुने भएपनि पहिलो धरहरा भन्दा केही बढि उचाइको हुने भएको छ ।  

तस्वीर: अनिल थापा (अर्घेलो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?