काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेका छन् ।
सरकारले ल्याएको अध्यादेशले आफ्ना नेता कार्यकर्ताहरुमाथि लगाइएका आरोपको फुकुवा गर्ने गरी अध्यादेश ल्याइएको भन्दै त्यसको स्वागत गरेका हुन् ।
महासचिव विप्लवले मंगलवार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीसँग पूर्ववर्ती सरकारसँग भएको तीन बुँदे सहमति अनुसार सरकारले ल्याएको अध्यादेश सकारात्मक भएको बताएका छन् ।
‘नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरु माथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेतारकार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रीपरिषद्को वैठकवाट अध्यादेशवारे निर्णय गरि प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ । हाम्रो पाटीसंगको छलफल एवं सहमतिको मर्म अनुरुप सरकारले आफ्नो जिम्मेवारी स्वरुप अध्यादेश पेश गर्नु स्वागतयोग्य कुरा हो । जसलाई हाम्रो पार्टीले सकारात्मक रुपले लिँदै धन्यवाद दिन चाहन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले स्वीकृत गर्नेमा आफू विश्वस्त रहेको समेत बताएका छन् ।
‘तीन बुँदे सहमतिप्रति हाम्रो पार्टी प्रतिबद्ध रहेको साथै सरकारले पनि समस्याहरुलाई सकारात्मक रुपले निकास दिन गरिरहेको पहललाई मनन् गर्दै संवैधानिक राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपतिज्यूले पनि अध्यादेशलाई स्वीकृती प्रदान गर्नेमा पार्टी विश्वस्त छ ।’ उनले भनेका छन् ।
फौजदारी अभियोगसहित राजनीतिक मुद्दामा थुनामा रहेका नेता कार्यकर्ताको रिहाइ हुने किसिमको अध्यादेश आएकोमा सत्तारुढ दलकै नेताहरु त्यसको विरुद्ध रहेको भन्दै आपत्ति जनाएका छन् ।
‘सरकारले अध्यादेश पेश गरे पश्चात सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकै कतिपय नेताहरुका साथै नेकपा (एमाले) का कतिपय नेताहरुले विरोध गरिरहेको सुन्दा आश्चर्य चकित बनाएको छ ।’उनले भनेका छन्, ‘कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरुलाई यथासिघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय हो ।’
त्यसैगरी आफूहरुसँग सहमति भइ कार्यान्वयन हुन नसकेको भन्दै मानवअधिकारकर्मी एवं कानुन व्यवसायीहरुसँग त्यसको बारेमा गम्भीर हुन समेत आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया